वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेशियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक शृखंलाको फाइनलमा प्रवेश गरेको छ।
बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ। अब उपाधिका लागि नेदरल्यान्ड्स र आयोजक नेपाल प्रतिस्पर्धा गर्नेछन् । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइए पनि ९२ रनको नयाँ लक्ष्य पाएको मलेशियाले ४ विकेट गुमाएर ९१ रन बनाउँदा खेल बराबरीमा सकिएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १ सय ७ रन जोडेको थियो ।
तर, मलेसियाको इनिङमा पुनः वर्षा भएपछि १० ओभरमा घटाइएको खेलबाट ९२ रनको नयाँ लक्ष्य पाएको थियो। जवाफी ब्याटिङ गरेको मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरीमा सकिएको थियो। वर्षाका कारण ‘कट अफ टाइम’ अवधि सकिएको खेलमा अम्पायरले सुपर ओभरमा नजाने निर्णय गरेसँगै खेल बराबरीमा टुङ्गिएको हो।
बराबरीको नतिजाले नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो। पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपालको तीन खेलबाट ५ अंक छ। मलेसियाले एक अंक जोड्दा शृखंलाको यात्रा समाप्त भएको छ। यद्यपि मलेशियाले बिहीबार नेपालसँग प्रतिस्पर्धा गर्न बाँकी छ। खेलको नतिजा जे भए पनि त्यसले फाइनलको समीकरणमा कुनै असर पार्ने छैन।
यस अघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि बेन कुपरले नेदरल्यान्ड्सका लागि ३२ बलमा ५४ रनको इनिङ खेलेका थिए । त्यस्तै कप्तान पिटर सिलारले ३७ रनको योगदान गर्दा अन्य ब्याट्म्यानले राम्रो स्कोर छुन सकेनन्। मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि साइद अजिजले ३०, अनवार अरुद्धिनले २३, विरनदिप सिंहले १४ रनको पारी खेले। नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राट र बस दी लिड र विवियान किङ्माले १/१ विकेट लिए।





























प्रतिक्रिया