काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गरेका छन् । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ ।
४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ। यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । यो (अक्सिजन भर्ने) प्रणाली जडान हुन बाँकी छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट्याङ्क, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन्।
प्लान्ट शुभारम्भपछि प्रमुख शाक्यले, गंगालालमा महानगरले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गरे । ‘गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी २ वटा अस्पतालमा हामी अक्सिजन प्लान्ट गर्दैछौँ । दुई ठाउँबाट दैनिक करीब २ सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुन्छ । यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करीव २ सय सिलिण्डर अक्सिजन अन्यत्र पठाउन सकिन्छ । यसबाट कोभिडका बिरामीमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छु ।’ प्रमुख शाक्यले भने, ‘घरमा बस्दा सर्जिकल मास्क भए पुग्छ । अस्पतालमा पुगेपछि अक्सिजनको मास्क चाहिन्छ । त्यसैले सबैभन्दा राम्रो त घरमा बसेर संक्रमणको चक्र तोड्नु नै बुद्धिमानी हुन्छ । तर, कुनै कारणले अस्पताल आउँदा अक्सिजन नपाएर विचल्ली नहोस् भनेर हामीले काम गरिरहेका छौँ।’
गंगालालमा आन्तरिक पाइप प्रणालीबाट अक्सिजन बिरामी भएको ठाउँमा पुर्याइएकोले सिलिण्डर नचाहिने भएकोले खर्च जोगिएको उल्लेख गरे । यही प्रसङ्मा उनले अहिले अक्सिजनका सिलिण्डर स्टक राखिएको खवरप्रति टिप्पणी गर्दै भने, चाहेको बेला उपलब्ध हुन सक्ने गरी अक्सिजन भएपछि सिलिण्डर जोहो गरिरहनु पर्दैन । नचाहिने सिलिण्डर फिर्ता गरिदिनोस् ।
त्यसक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भने, ‘गंगालालले विरामीसँग अक्सिजनको पैसा लिँदैन र भेन्टिलेटरको पनि पैसा लिँदैन । यो निःशुल्क सेवा सञ्चालन गर्न महानगरले गरेको सहयोग उल्लेख्य छ ।’ उनले थप्दै भने, ‘एउटै विरामीको मुटु उपचार र मृगौलाको डाइलोसिस गर्नु पर्ने अवस्थामा कठिन भइरहेको छ । गंगालालमै डाइलोसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने विरामीले डाइलोसिस गर्न अर्को अस्पताल जानु पर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ ।’
कुनै कारणले भौतिक संरचनामा भएको क्षति पुनर्निर्माण गर्न सकिन्छ । तर, मानवीय क्षति कुनै पनि प्रकारले पुनस्र्थापना गर्न सकिँदैन । त्यसैले मानव जीवनको सुरक्षाका लागि महानगरले लगानी बढाउँदै लगेको छ । कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के.सीले भने, ‘गंगालालसहित मेरो वडामा राष्ट्रिय स्तरका १९ वटा अस्पताल छन् । ती अस्पतालसँगको सहकार्यमा महानगरबासीको स्वास्थ्य सुरक्षामा मेरो प्रयास रहन्छ ।’
महानगरसँगको सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट खरिद गरेको हो । बोलपत्रबाट छनौट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैङ्क खातामा पठाएको थियो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार केन्द्रले गर्नेछ ।
केन्द्रमा प्लान्ट अनामिभले जडान गरेको हो । अनामिभका इञ्जिनियर बिजन अर्यालका अनुसार, प्लान्टको ५ बर्षे वारेन्टी हो । त्यसपछिको ३ बर्षसम्म यसमा केही भए निःशुल्क मर्मत हुनेछ ।
मुटुको समस्या भएर गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । यसका लागि महानगर र केन्द्रकाविच ०७६ माघ १५ गते सहिद सप्ताहका कार्यक्रम पारेर सहमति पत्रमा हस्ताक्षर भएको थियो । केन्द्रको २४ औं स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सहमति पत्रमा हस्ताक्षर भएको थियो । यसका लागि महानगरले ३ करोड रुपैयाँ छुट्याएको थियो ।





























प्रतिक्रिया