नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताएका छन्।
आइतबार संघीय संसद भवन नयाँवानेश्वरमा संञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले पार्टीभित्र व्हीप लाग्ने र सांसदहरुले पार्टीको व्हीप मान्नु पर्ने संकेत गरेका हुन्। उनले अन्य पार्टीलाई आफूहरुको व्हीप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरुले व्हीप उल्लंघन गर्न नमिल्ने संकेत गरे।
उनले भने, “२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्मा १ सय २१ सिट जितेको हो। त्यो १ सय २१ सिट संख्या यसपटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ। बाँकी राजनीतिक दलहरुसँग हामीले सहयोग माग्ने मात्रै हो। अरु दललाई हाम्रो व्हीप लाग्दैन। निर्देशन लाग्दैन। प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ। यदि विश्वासको मत प्राप्त भएन भने विपक्षीमा बसेर हामी मुलुक र जनताको सेवा गर्न तत्पर छौं ।”
उनले एमालेकै नेपाल खनाल समूहले प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नु अगावै राजीनामा दिने कुरामा आफूलाई विश्वास नभएको तर्क गरे।
उनले भने, “मलाई पटक्कै विश्वास छैन। किनभने निर्वाचनमा ५ वर्षका लागि मत मागेर आउनुभयो। विकास र समृद्धिको कुरा गर्नुभयो। यसबेला आएर जनताका बीचमा राजीनामा दिएर के भन्दै जाने हो। त्यसकारणले मलाई राजीनामा आउँछ जस्तो लागेको छैन।”





























प्रतिक्रिया