एक साता सबै बैंकहरु बन्द गराउन राष्ट्र बैंकलाई सिइओ शेरचनको सुझाव

एक साता सबै बैंकहरु बन्द गराउन राष्ट्र बैंकलाई सिइओ शेरचनको सुझाव

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय नेपालमा कोराना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ। कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै देशभरका अस्पतालहरुमा अक्सिजनको  हाहाकार नै भएको छ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित प्रायः सबै जिल्लामा निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेकमा सबै सेवा बन्द रहेका छन्। तर बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ला नै रहेका छन्। एक सातासम्म पूर्णरुपमा सञ्चालनमा आएका बैंक दोस्रो सातादेखि कोरोना संक्रमणको जोखिम बैंकिङ क्षेत्रमा बढ्दै गएको भन्दै राष्ट्र बैंकले २० प्रतिशत कर्मचारी राखेर आलोपालो गरेर बैंक सञ्चालन गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशन अनुसार अहिले बैंकहरु सञ्चालनमा रहेका छन्। आधा मात्रै बैंक सञ्चालन गर्दा बैंकहरुमा सेवाग्राहीको भिड लाग्ने गरेको बैंकहरुले बताउन थालेका छन्।

निषेधाज्ञामा बैंकहरुले आधा मात्रै शाखा चलाउँदा बैंकहरुमा भिड लाग्ने गरेकाले थप कोरोना संक्रमण जोखिम बढ्दै गएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन बताउँछन्।

सिइओ शेरचनका अनुसार बैंकका कर्मचारीहरुलाई संक्रमण बढ्दै गएको छ । आधा पनि शाखाहरु सञ्चालन गर्न कठिन भएको छ भने आधा खुलेका शाखाहरुमा मानिसहरुको भिड लाग्ने गरेको उनी बताउँछन्। 

बैंकिङ क्षेत्रमा थप कोरोना संक्रमण जोखिम बढेको छ । उनले भने, ‘अब बैंकिङ क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नका लागि भएपनि सबै बैंकहरु एक साताका लागि बन्द नै गर्नु पर्ने स्थिति आएको छ। यसरी बन्द गरियो भने मात्रै बैंकिङ क्षेत्रमा केही सहजता आउने थियो।’

अहिले सबै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुका एउटै धारणा बनाएर राष्ट्र बैंकलाई जानकारी गराउने तयारी भइरहेको शेरचनले बताए। जोखिम बढे पनि बैंकहरुले आफूखुसी बैंक बन्द गर्न पाउँदैनन्। बैंकहरु बन्द गर्नका लागि राष्ट्र बैंकले स्वीकृती दिनु पर्ने हुन्छ।

पछिल्लो समय निषेधाज्ञा भए पनि दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएका छन्। त्यही गतिमा बैंकका कर्मचारीहरु पनि संक्रमित हुँदै गएकाले जोखिम कम गर्नको लागि भए पनि एक साता बैंकहरु बन्द गर्नु पर्ने राष्ट्र बैंकलाई सुझाव दिएका छन्। 

यता निषेधाज्ञामा पनि भिडभाड बढेपछि नेपाल बैंकर्स संघले राष्ट्र बैंकको सहमतिमा आजदेखि शाखाहरु ३ देखि ४ बजेसम्म मात्र खोल्न सदस्य बैंकहरुलाई जानकारी दिएको छ । 

राष्ट्र बैंकले यसअघि नै कर्पोरेट कार्यालय एक चौथाइ कर्मचारीबाट मात्र राखेर चलाउन निर्देशन दिएको छ। शाखाका बारेमा केही पनि भनेको छैन। अहिले बैंकका शाखाहरु ४ देखि ६/७ कर्मचारीबाट चलिरहेका छन्। कर्मचारी थपेर चलाउँदा पनि भिडभाड कम नभएपछि शाखा थप्नु पर्ने बैकर्स संघले जनाएको छ ।

२ हजार भन्दा बढी बैंकका कर्मचारी संक्रमित

निषेधाज्ञामा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकहरुले पालैपालो सीमित शाखाहरु संचालन गरिरहेका छन्। बैंकहरुमा मास्क, सेनिटाइजरको प्रयोग, सामाजिक दूरीजस्ता अत्यावश्यक मापदण्ड पालना गर्दागर्दै पनि कर्मचारीमा संक्रमण बढ्दै गएको छ। 

अहिलेसम्म क वर्गका वाणिज्य बैंकहरुमा काम गर्ने २ हजार ४०१ कर्मचारी कोरोनाबाट संक्रमित भइसेका छन्। नेपाल बैंकर्स संघले सोमबारसम्म देशका विभिन्न ठाउँमा गरी २ हजार ४०१ सक्रिय संक्रमित कर्मचारी रहेको जानकारी दिएको छ।

अहिले पनि संक्रमित कर्मचारीको संख्या दिनप्रतिदिन बढेको छ। निषेधाज्ञा हुनु भन्दा पहिले वैशाख २ गतेसम्म ६५ जना कर्मचारी मात्रै संक्रमित थिए। २६ दिनको अन्तरालमै यो संख्या २४ सय नाघेको संघले जनाएको छ।

मुलुकमा जसरी संक्रमित बढ्दै गएका छन्, बैंकका कर्मचारीमा पनि सोही गतिले संक्रमणको दर बढेको देखिन्छ। यसरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा संक्रमण बढ्दै गएकाले बीमा समितिले भिडभाड बढेको भन्दै शाखा कार्यालयहरु बन्द गर्न बीमा कम्पनीहरुलाई निर्दशन दिएको छ। बिहीबारबाट उपत्यकाका सबै शाखाहरु बन्द हुनेछन् भने सहकारी विभागले पनि सहकारी संस्थाहरु बन्द गर्न सूचना जारी गरेको छ।

Logo