स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताएका छन्।
सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताएका हुन्। खोप लगाउने क्रम जारी रहेको पनि उनको भनाइ छ। नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले जानकारी दिए।
सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको उनले जानकारी दिए । त्यस्तै चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ हजार डोज खोप प्राप्त भएको उनको भनाइ छ। त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा. अधिकारीले बताए।
७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भएपनि भेरोसेल खोप लगाउन सुरु गरिएको उनको भनाइ छ। भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए। यद्यपी भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उनको भनाइ छ। स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि बताए।
पिसिआर परीक्षण
कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको सम्बन्धमा देशभरी ९० वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको उनले जानकारी दिए। अहिले एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिंगमा परेकाहरुको पिसिआर परिक्षण भइरहेको छ। पिसिआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारी बताए। अहिले नीजि तथा सरकारी प्रयोगशालाहरुबाट परीक्षण भइरहेको छ। एन्टीजेन परीक्षण भने मुख्यगरि नेपाल भारत सीमामा भारतबाट नेपाल भित्रिने नेपालीहरुमा गरिएको छ।
स्वास्थ्य सामाग्रीको अवस्था
यस्तै सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए। संक्रमणको दर बढ्दै जाँदा मौज्दातमा असर पर्ने भएकोले आवश्यक स्वास्थ्य सामाग्रीहरु ल्याउनका लागि पनि स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरिरहेको बताए। अहिले आवश्यक पर्ने परीक्षणका सामाग्री, उपचारका सामाग्री र अन्य आवश्यक सामाग्रीहरुको सहयोगका लागि विभिन्न निकायमा, दाताहरुसँग पत्राचार गरिएको बताए।





























प्रतिक्रिया