राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य व्यवस्था समितिको बैठकले सत्तारुढ दलको आन्तरिक विवाद तथा प्रमुख विपक्षी दलको अकर्मण्यता तथा बारम्वार भैरहेको संविधानको अवहेलनाको परिणामस्वरूप फेरि दोस्रोपटक प्रतिनिधिसभा विघटन हुन पुगेको निष्कर्ष निकालेको छ।
पार्टीको बैठकले चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण गर्नु पर्ने समेत निष्कर्ष निकालेको छ।
तर, सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको बताउँदै बैठकले कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको बताउँदै यस्तो डरलाग्दो महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको पनि जनाएको छ।
विगत केही वर्षयताको घटनाक्रमहरूका कारण वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि नै बारम्बार गम्भीर प्रश्नचिन्ह खडा भएको छ । अहिले देशमा जुन परिस्थितिको विकास भएको छ, त्यसको मूल जरो कथित बाह्र बुँदे सहमति, सो समझदारीको जगमा खडा गर्न खोजिएको राजनीतिक प्रणाली, हिन्दु राष्ट्र र राजसंस्थालाई षडयन्त्रपूर्वक हटाउने कार्य तथा सो परिवर्तनका संवाहकहरूको सत्तालिप्सा र आमजनताप्रतिको उपेक्षा हो,’ विज्ञप्तिमा भनिएको छ।
बैठकले राज्यको सम्पूर्ण शक्ति र श्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न, तथा आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न पनि सरकारसँग माग गरेको छ ।






























प्रतिक्रिया