हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश २०७८’ जारी गरेकी हुन्। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध आधारमा नेपाली नागरिकता प्राप्त गरेकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधानसहितको अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिपक्षी दलहरूको गठबन्धन सोमवार मात्रै सर्वोच्च अदालत जाने भएको छ । गठबन्धनको तयारी नपुगेका कारण भोलिमात्र सर्वोच्च अदालतमा रिट लिएर जाने भएको हो। परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा रहे पनि माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर नजुटेको र अन्य तयारी पनि नपुगेकाले भोलि बिहान १० बजे अदालत जाने निर्णय भएको हो। यसैबीच माओवादी अध्यक्ष प्रचण्डले विघटनविरुद्धमा एक सय ४९ भन्दा धेरै सांसद साथ दिन तयार भएको र भोलिसम्म यो सङ्ख्या अझै थपिने पनि दाबी गरेका छन्।
राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन्। आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसँगको अन्तक्रियामा प्रधानमन्त्रीले नेपाली कांग्रेस उत्तेजना र आवेशमा आएर प्रचण्डपथमा प्रचण्डलाई गुरु मानेर अघि बढेको भन्दै आवेश र उत्तेजनाको राजनीतिक नगर्न सभापति देउवालाई सुझाव पनि दिएका छन्।
देशको राजनीतिक अस्थिरता उन्मुख हुँदा पनि शेयर बजारमा भने त्यसको प्रभाव देखिएको छैन । राजनीति अन्योलताका बीचमा पनि आइतबार शेयर बजार परिसूचक नेप्से आइतवार पूराना सबै रेकर्ड ब्रेक गर्दै ३२ दशमलव ८१ अङ्कले बढेर २ हजार ८ सय २० विन्दुमा पुगेको छ। यस्तै आज सेयरबजारमा कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ।
वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा अनुकूल मौसमका कारण आज आइतबार एकै दिन झण्डै १ सय ५० आरोहीले सगरमाथा आरोहण गरेका छन्। यसअघि प्रतिकूल मौसमका कारण एक साता सगरमाथा आरोहण प्रभावित बनेको थियो। वसन्तयामको जारी आरोहणका क्रममा पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकेका कारण नेपालको मौसम बिग्रिएपछि सगरमाथासहितका हिमाल आरोहण प्रभावित बनेको थियो।





























प्रतिक्रिया