नेपाल राष्ट्र बैंकले पछिल्लो समय लगाताररूपमा लघुवित्तको शेयर मूल्य उच्चदरले बढेपछि त्यसलाई नियन्त्रण गर्नका लागि बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किन्न नपाउने नयाँ व्यवस्था गरेको छ।
राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको हो।
बैंकले यसअघि शेयर खरीद गरेको भए आगामी पुस मसान्तभित्र बिक्री गरिसक्न समेत निर्देशन दिएको छ। लघुवित्तको शेयरमा कर्नरिङ गर्दै मूल्य बढाइएको पाइएपछि यस्तो कदम चालेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, राष्ट्र बैंकले लघुवित्त संस्थाहरुले कर्जाको लगानी गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन पनि रोक लगाएको छ। एकिकृत निर्देशनमा परिमार्जन गरि लघुवित्त वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुसम्म बढाउन सक्नेछन् भने कर्जाको ब्याजदरको हकमा प्रकाशित ब्याजदरभन्दा बढीदर कायम गर्न नपाउने व्यवस्था गरेको छ।
यसैगरी लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, ब्याज र हर्जना व्याज बाहेक कर्जासँग सम्बन्धित अन्य कुनै पनि रकम लिन नपाउने भएका छन्।
यस अघि लघुवित्त संस्थाले सेवाग्राहीसँग ब्याजभन्दा पनि नविकरण लगायत अतिरिक्त शुल्क बढी लिने गरेको व्यापक गुनासो बढे पनि राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो।
यसैगरी लघुवित्तले आफ्ना ऋणीसँग कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने भएको छ। साथै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिको लागि विशेष व्यवस्थाअनुरुप निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न पाइने छैन।





























प्रतिक्रिया