पातलो निद्राले ‘डिप्रेसन’ निम्त्याउन सक्छ

पातलो निद्राले ‘डिप्रेसन’ निम्त्याउन सक्छ

केन्द्रबिन्दु
0
Shares

बिहान अबेर भइसक्दा पनि किशोरकिशोरी सुतिरहन्छन्। के उनीहरूलाई ओछ्यानबाट निकालेर ब्युँताउनु उपयुक्त हुन्छ? कहिलेकाही त्यसो गर्नु आवश्यक लाग्छ, तर त्यो उपयुक्त भने हुँदैन। किशोरावस्थाको निद्रा वर्तमान र भविष्यको मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ भन्ने तथ्य उजागर हुँदै गएको छ।

किशोरकिशोरीमा निद्राको कमी वा पातलो निद्रा डिप्रेसनको मुख्य लक्षणमध्ये एक हो। जतिसुकै थकित भए पनि चिन्ता र अन्योलले ग्रस्त भएका बेला निदाउन गाह्रो हुन्छ। यो किशोरकिशोरी मात्रै नभई वयस्कहरूको हकमा पनि लागू हुन्छ। डिप्रेसन भएका ९२ प्रतिशत मानिसलाई निद्राको समस्या हुने पाइएको छ।

अर्को तर्फ केही मानिसमा डिप्रेसन हुनुपूर्व नै निद्राको समस्या देखिन सक्छ, जुन भविष्यमा विभिन्न मानसिक रोगको कारण नै बन्न सक्छ। के यसको अर्थ किशोरकिशोरीको निद्रालाई महत्वसाथ हेरिनुपर्छ भन्ने हो? अनि के राम्रो निद्राले कालान्तरमा डिप्रेसनको जोखिम कम गर्छ?

सन् २०२० मा प्रकाशित एक अध्ययनमा युनिभर्सिटी अफ ससेक्सका मनोवैज्ञानिक फेथ रिचर्डले १५ देखि २४ वर्ष उमेर समूहका युवाहरूको जीवनशैलीबारे जानकारी लिए। अध्ययनले १५ वर्षको उमेरमा निद्रा राम्रो भएका र डिपे्रसन र एन्जायटी जस्ता समस्या नभएका युवा राम्रो निद्रा भएकाहरूको तुलनामा १७, २१ वा २४ वर्ष पुगुन्जेल डिप्रेसन र एन्जायटीको सिकार हुने सम्भावना बढी रहेको देखाएको थियो।

वयस्कमा पनि निद्राको समस्या निकट भविष्यमा आउँदै गरेको डिप्रेसनको सूचक हुन सक्छ। मानिसमा निद्राको समस्या भए जीवनको उत्तरार्धमा डिप्रेसनको समस्या हुने सम्भावना दुई गुणा बढी हुने कुरा ३४ अध्ययनहरूको विश्लेषणले देखाएको थियो। यसको अर्थ निद्रामा सानातिना समस्या हुनेबित्तिकै डिप्रेसन भइहाल्छ भन्ने होइन। धेरैमा त्यस्तो खालको समस्या नदेखिन सक्छ। यद्यपि, निद्राको समस्या भएका मानिस भविष्यमा डिप्रेसनको जोखिमबाट सजग हुनुपर्ने चाहिँ स्पष्ट भएको छ।

कमजोर निद्राले कमजोर मानसिक स्वास्थ्य कसरी निम्त्याउन सक्छ भन्ने दृष्टान्त पनि छन्। परिवार र मित्रजनबाट टाढिने, आत्मबलको कमी र बढ्दो असहिष्णुता जस्ता नकारात्मक प्रभाव निद्राको कमीले हामीमा पार्न सक्छ र, त्यसले हाम्रो व्यक्तिगत सम्बन्धमा दरारलाई हामीलाई डिप्रेसनतर्फ धकेल्न सक्छ। यीबाहेक ध्यान दिनुपर्ने केही जैविक पक्ष पनि छन्। निद्राको कमीले शरीर सुन्निने समस्या पनि देखिन सक्छ, जसलाई मानसिक समस्याको एक सूचक मान्ने गरिन्छ। 

मानसिक स्वास्थ्य र निद्राबीचको सम्बन्धबारे अहिले पनि अध्ययन जारी छ। अक्सफोर्ड विश्वविद्यालयका न्युरोवैज्ञानिक रसे फोस्टरले निद्रा डिप्रेसनसँग मात्रै सम्बन्धित नरहेको पत्ता लगाएका छन्। बाइपोलार डिसअर्डर र स्किजोफ्रेनियाका बिरामीमा विचलित निद्राको लय नौलो कुरा होइन। कहिलेकाहीँ शारीरिक समयसूचक यति विचलित हुन्छ कि मानिसले आफूलाई दिनमा सुतेको र राति उठेको पाउँछ। 

क्लिनिकल मनोवैज्ञानिक डेनियल फ्रिम्यानले निद्राको समस्यालाई मानसिक स्वास्थ्यमा विशेष महत्वसाथ हेरिनुपर्ने बताएका छन्। विभिन्न रोगसँग सम्बन्धित भएकाले निद्राको समस्यालाई कुनै पनि मानसिक समस्याको केन्द्रमा राखेर हेर्ने गरिँदैन। उनका अनुसार निद्राको समस्यालाई कतिपय घटनामा समाधान गर्न सकिने भए पनि नजरअन्दाज गर्ने गरिन्छ। 

निद्राको समस्याभन्दा मानसिक समस्या पुरानो भएको खण्डमा पनि मानसिक समस्यालाई निद्राको समस्याले झन् मलजल गर्छ। एकै रात निद्रा बिग्रँदा त मुड र सोचाइमा कत्रो प्रभाव हुने गर्छ।

वयस्कमा पनि निद्राको समस्या निकट भविष्यमा आउँदै गरेको डिप्रेसनको सूचक हुन सक्छ। मानिसमा निद्राको समस्या भए जीवनको उत्तरार्धमा डिप्रेसनको समस्या हुने सम्भावना दुई गुणा बढी हुने कुरा ३४ अध्ययनहरूको विश्लेषणले देखाएको थियो।

निद्रा र डिप्रेसनबीचको जटिल सम्बन्ध डिप्रेसनको उपचार भए पनि निद्राको समस्या रहन सक्छ भन्ने खोजले देखाएको छ। नकारात्मक सोच हटाउन मद्दत गर्ने मनोवैज्ञानिक उपचार पद्धतिले पनि मानिसलाई निदाउन सहज बनाउने गरेको पाइन्छ। यद्यपि, रिडिङ युनिभर्सिटीकी क्लिनिकल मनोवैज्ञानिक सर्ली रेनोल्ड्स र उनको समूहले सन् २०२० मा गरेको अध्ययनमा डिप्रेसनका लागि तीन फरक मनोवैज्ञानिक उचार पद्धति अपनाउँदा केही नयाँ तथ्य अगाडि आए। तिनै पद्धति डिप्रेसनको उपचारमा उत्तिकै प्रभावकारी देखिए, तर निद्राको समस्या भने आधा मानिसमा मात्र समाधान भएको पाइयो। बाँकी आधामा निद्राको समस्या यथावत रहनुले निद्राको समस्याको उपचार बेग्लै हुनुपर्ने आवश्यकता औँल्यायो।

यति भन्दै गर्दा डिप्रेसन र निद्राको समस्याको जड एउटै हुन सक्छ भन्ने कुरालाई पनि नकार्न सकिन्न। कहालिलाग्दा र नकारात्मक घटना र वशांणुगत गुण त्यस्ता जडका उदाहरण हुन सक्छन्। मुड निर्धारण गर्ने सेरोटोनिन र डोपामिनसँग सम्बन्धित वंशाणु र मस्तिष्कको समयसूचकसँग सम्बन्धित वंशाणुको प्रभाव डिप्रेसन र निद्रा हुने गरेको पनि पाइएको छ।    

हामीले यसअघि नै चर्चा गरेअनुसार निद्राको कमी र मानसिक स्वास्थ्यका समस्या एक अर्काका लागि सहयोगी हुन सक्छन्। चिन्ताका कारण सुत्न नसक्नु अनि सुत्न नसकेर चिन्ता बढ्नु–यस्तो चक्र पनि मानिसमा पाइन्छ।

निद्राको समस्या डिप्रेसनको कारणभन्दा पनि प्रारम्भिक सूचक हुने पनि प्रबल सम्भावना छ। खाटमा पल्टिनुभन्दा अगाडि हुने चिन्ताले निद्रा उडाउने समस्या तपाईंले भविष्यमा गुज्रिनुपर्ने गम्भीर मानसिक समस्याका पहिलो लक्षण पनि हुन सक्छ।

४९  अध्ययनको एकीकृत विश्लेषणले निद्राको समस्या भएका र निद्राको समस्याबाट पनि गुज्रिरहेका मानिसमा असल निद्राको बानी विकास गर्न सके डिप्रेसनमा कमी ल्याउने र निद्राको समय र स्तरीयता बढाउने देखाएको छ।

निद्राको समस्यालाई अन्य मानसिक समस्याभन्दा सहजतासाथ हेरिने भएकाले यसको निराकरण अन्य मानसिक समस्याको उपचारमा पनि सहयोगी हुन सक्छ। बिहान र दिनभर यथेष्ट प्रकाश भएको ठाउँमा समय बिताउने, २० मिनेटभन्दा लामो न्याप (छोटो निद्रा) दिनभर नलिने, साँझपख खाने, व्यायाम गर्ने र कफी पिउने काम नगर्ने, सुत्ने बेलामा इमेल पढ्ने वा जटिल विषयमा घोत्लिने काम नगर्ने, सुत्ने कोठा शीतल, शान्त र अँध्यारो राख्ने, सुत्ने र उठ्ने समय दिनैपिच्छे एकै बनाउने आदि निद्रा राम्रो बनाउने केही उपाय हुन्।

राम्रो निद्राका कारण मानसिक स्वास्थ्यको समस्या एकाएक जान्छ भन्ने पक्कै होइन। तर, यसले कालान्तरमा राम्रो नतिजा दिन सक्छ। जेजसो भए पनि निदाउन रुचाउने किशोरकिशारीले रातिको मिठो निद्राभन्दा बढी महत्वपूर्ण केही हुँदैन भन्ने राम्रोसँग बुझेका हुन्छन्।

(बीबीसी फ्युचरमा प्रकाशित यो लेख केन्द्रबिन्दुका लागि कुशल बस्नेतले अनुवाद गरेका हुन्)  

Skip This
Skip This
Logo