जो मलाई बचाऊ भन्दै थिइन्, बेपत्ता भएको १० दिनपछि जंगलमा मृत फेला

जो मलाई बचाऊ भन्दै थिइन्, बेपत्ता भएको १० दिनपछि जंगलमा मृत फेला

केन्द्रबिन्दु
0
Shares

राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन्। आफूलाई सम्हाल्नै सकेकी छैनन्। आफन्त र छिमेकी आउँछन्, सान्त्वना दिन्छन्। उनीहरू आँखाभरि आँसु बनाउँछन्।

अम्बिकाले हराएकी छोरीको पिरलो भए पनि फेला पर्लिन् भनेर चित्त बुझाउँदै बसेकी थिइन्। तर, २३ वर्षीया छोरी सुजिता आइतबार मृत फेला परेको खबर पाएपछि उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी छन्। छोरी सम्झिँदै छाती पिट्दै रुन्छिन्। 

कसरी हुन्छ अपराधी पत्ता लगाइदिनुस्। मेरी छोरी फर्केर त आउदिन तर अपराधीलाई कारबाही हुनै पर्छ। अम्बिका भण्डारी, सुजिताकी आमा

‘मलाई बचाऊ ! मलाई बचाऊ ! भनेर छोरीले रुँदै फोन गरेकी थिई। हामीले बचाउन सकेनौं’, उनले रुँदै भनिन्, ‘अपराधीले त्यस्तो कुनामा लगेर तड्पाई–तड्पाई मार्‍यो।’

ब्रह्मस्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका एक स्थानीयले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ। 

‘टाउकोमा कुटेर आँखामा पट्टी बाँधेछ। पछि कहाँ गएर आँखा खुल्यो ? कसरी फोन गर्न भ्याई ?’, अम्बिकाले घटनाको विवरण सुनाइन्, ‘कसरी हुन्छ अपराधी पत्ता लगाइदिनुस्। मेरी छोरी फर्केर त आउदिन तर अपराधीलाई कारबाही हुनै पर्छ।’ 

सुजिता तरकारी लिन साथीको घरमा बोलाएको भन्दै असार ११ गते बिहान ६ बजे राप्तीकै जितपुर सिमरा हिँडेकी थिइन्। परिवारका अरू सदस्य घरमा रोपाइँ भएकाले त्यतै लागेका थिए। 

सुजिताले मध्याह्न १२ बजे आफू अपहरणमा परेको भन्दै साइली दिदी कवितालाई फोन गरेकी थिइन्। कवितालाई उद्धृत गर्दै अम्बिकाले छोरीले आफूलाई दुई जना पुरुष र दुई जना महिला भएर अपहरण गरेको भनेर फोन गरेको सुनाइन्। साथीको घर नपुग्दै अपरहणमा परेपछि सुजिताको हत्या भएको आशंका परिवार र आफन्तको छ। 

प्रहरीका अनुसार घटनास्थलनजिक धानमा हाल्ने विषादीको बट्टा र घरबाट लगेको झोला शव भेटिएको स्थानमा फेला परेको छ। प्रहरीले सोमबार बिहान मात्र शवको मुचुल्का उठाएको थियो।अन्नपूर्णबाट

Logo