जनता समाजवादी पार्टी (जसपा)ले आज संसदीय दलको नेता चयन गर्दैछ। बहुमत संसदहरुको समर्थनमा आज संसदीय दलको नेता चयन गर्ने जसपाको तयारी छ। त्यसको लागि जसपाले संसदीय दलको विधान पास गरेको छ।
सिंहदरबारमा बहुमत सांसदहरुको समर्थन जुटाएको जसपा उपेन्द्र यादव समूहले आज संसदीय दलको बैठक बोलाएको हो। आजैको बैठकले विधान पास गरि संसदीय दलको नेता चयन गर्ने कार्यसूची छ।
को बन्ला संसदीय दलको नेता?
जसपा स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादव नै संसदीय दलको नेता बन्ने जानकारी दिएको छ। यसअघि बहुमत सांसदहरुको समर्थनमा जसपा महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतो दलको नेता चयन भएपनि यादव पक्षले त्यसलाई स्वीकार गरेको थिएन।
एमाले अध्यक्ष केपी ओली सत्ताच्युत भएपछि ठाकुर पक्ष संसदीय दलमा अल्पमतमा पुगेका थिए र यादव पक्षमा बहुमत जुटेको थियो। शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा त झन सांसदहरु देखिने गरिनै ठाकुरको साथ छोडेर यादवसँग गए।
ठाकुर पक्ष अहिले संसदीय दल र केन्द्रीय कार्यकारिणीमा अल्पमतमा छ। दलको आधिकारीकता सम्बन्धी विवाद निर्वाचन आयोगमा रहेको र आयोगले आधिकारीकता नदिए पनि यादव पक्ष दलको नेता छान्न लागेको हो।
उनीहरुले आयोगले आफूहरुलाई नै आधिकारीकता दिने हँुदा दलको नेता छान्न नपर्खिएको बताए। तर, आजको संसदीय दलको बैठकमा ठाकुर पक्ष भने अनुपस्थित छन्।
‘जसपा ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले आफूलाई खबर नभएको र भएपनि हामी जाने थिएनौं’, उनले भने।
हाल जसपामा ३३ सांसद छन् । जस मध्ये यादव पक्षसँग १९ र ठाकुर पक्षसँग १४ जना रहेकाेमा रेशमलाल चाैधरी जेलमा छन् ।





























प्रतिक्रिया