नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशहरूको तमासाले अदालतमा सेटिङ पुष्टि भएको तर्क गरेका छन् । एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतमा सेटिङ गरेर परमादेश आएको कुरा न्यायाधीशहरू आफैले भण्डाफोर गरेको बताए ।
'जालझेल, सेटिङ, तिकडम गरेर, अदालत मिलाएर, मिलाएको रहेछ भन्ने त एक पछि अर्को न्यायाधीशहरू आफैं भन्न थाले । बकपत्र सुरु भयो । अमेरिकाबाट इमेल पठाए । पढ्दा पढ्दै, पढि नसक्दै चुपचुप, बन्द गर, बन्द गर भनेर तमासा गरेका छन् । बन्द गर, बन्द गर । रोक, रोक,' उनले भने, 'न्यायाधीशको इमेल के के न होला भनेर पढ्दा पढ्दै छोप्नुपर्यो । बन्द गर, बन्द गर । रोक, रोक । यो सत्य बाहिर जाँदा त के के पो निस्किने हो, भण्डाफोर भयो । आधामै रोकायो । चौथाईमै रोकायो । के हालत छ ?'
प्रतिक्रियावादीहरुले यस्ता खालका चाहिने नचाहिने क्रियाकलाप गर्ने उनको भनाइ छ । 'यिनीहरूले जनताको शक्तिलाई ललकार्ने कुरा गर्छन् । अमेरिकाबाट लेखिएको इमेल के भन्छ, एकदम खतरनाक शक्ति अगाडि बढेका हुनाले सरकारबाट खसाल्नै पर्छ । संवैधानिक ढंगले जान सकिएन । त्यसकारण असंवैधानिक ढंगले जानुपर्यो,' उनले भने ।
एमालेलाई सरकारबाट ढाल्न कुनै संवैधानिक बाटोबाट सम्भव नभएको, एमाले फुटाउन संवैधानिक बाटो नभएकाले जालझेल गरिएको उनको आरोप थियो । '४० लाई २० प्रतिशत झारियो । र लाई वा मा झारेर, संसद् बन्द गरेर, हामीले निष्कासन गरेका, कारबाही गरेकालाई कायम राखेर, बलजफती, संविधानको धज्जी उडाएर, मर्यादित संस्थाहरुको हुर्मत लिएर एमालेलाई परमादेशबाट हटाइयो,' उनले भने, 'किनभने कुनै वैधानिक र सही बाटोबाट एमालेलाई सकिँदै सकिँदैन । त्यसकारण गलत बाटोबाट परमादेशबाट हटाइयो । एमालेसँग अगाडिबाट लड्ने हिम्मत छैन । त्यसकारण पछाडिबाट झुक्काएर परमादेशबाट हटाइयो । परमादेश भनेको त झुक्काएर असंवैधानिक ढंगबाट पछाडिबाट हान्ने रहेछ ।' न्युज कारखाना





























प्रतिक्रिया