अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) ले संखुवासभाको किमाथांका नाका र अरुण करिडोर चाँडै सञ्चालनमा ल्याउने बताएका छन्। किमाथांका नाका खोल्न सरकार अग्रसर भएको उनले बताए।
प्रेस सेन्टर नेपाल संखुवासभाले बुधबार सदरमुकाम खाँदवारीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले किमाथांका नाका सरकारले व्यवस्थित गरेर चाँडै खोल्ने बताए।
सुनसरीको चतरादेखि संखुवासभाको किमाथांकासँगै अरुण करिडोरको काम सरकारले चाँडै सुरु गर्ने अर्थमन्त्री शर्माले बताए। संखुवासभाका लागि महत्त्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए।
अरुण करिडोर आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको अर्थमन्त्रीकाे भनाइ थियाे। अर्थमन्त्री शर्माले पत्रकार सम्मेलनमा किमाथांका नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्त्वका साथ हेरेको बताए।
छिमेकी देश चीनसँग बाह्रै महिना नाका सञ्चालन हुने यस नाकासम्म पुग्ने सडक निर्माण गर्न सरकार प्रतिबद्ध रहेकाे अर्थमन्त्री शर्माको भनाइ छ। 'सम्मेलनमा पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शंका नगर्नुहोला। र, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका बारेमा गठबन्धनले छलफलमार्फत समाधान खोज्नेछ', उनले भने ।
उनी संखुवासभा जिल्लामा नेकपा माओवादी कार्यकर्तालाई प्रशिक्षण दिन मंगलबार आएका हुन्। मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यापारीसँग छलफलसमेत गरेका थिए।





























प्रतिक्रिया