फूल खेती गर्ने किसानको दुखेसो: श्रमको मूल्य पनि उठ्दैन

फूल खेती गर्ने किसानको दुखेसो: श्रमको मूल्य पनि उठ्दैन

केन्द्रबिन्दु
0
Shares

तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याई नभ्याई छ । उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगी हाल्छिन् । ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न मेला भ्याउँछिन् ।

उनका अनुसार तिहारभित्रै सबै फूल नटिपे पछि खेर जान्छ । बिहानभर लगाएर टिपेको फूलको उनको श्रीमान्ले दिउँसो माला उन्छन् । उनले घरसँगैको करिब एक रोपनी बारीमा फूल रोपेको सुनाइन् । यस वर्ष करिब दुई हजार माला तयार हुने उनको भनाइ छ । ‘पहिलेको वर्षको तुलनामा यस वर्ष फूल कम रोपेका छौँ । फूल पनि राम्रो भएन,’ उनले भनिन् । उनीहरूले एउटा मालालाई २५ देखि ३० रुपैँयामा बेच्ने गरेका छन् । 

फूल खेतीमा धेरै मिहिनेत परे पनि श्रमको मूल्य नआउने कृषकहरूको गुनासो छ  । सिन्धुली घर भई गुण्डु बस्दै आएका सुबास ब्लोले पनि फूललाई मिहिनेत धेरै गर्नु परे पनि उचित मूल्य नआउने बताए ।  बैशाखमा बेर्ना राखी फूल रोप्न तयार हुन्छ । ‘फूल रोपेदेखि नै दैनिक पानी हाल्नु पर्छ । समय समयमा किटनाशक औषधि, बढ्ने औषधि हाल्नुपर्छ । साउनको पहिलोको हप्ताबाट फूल टिप्न तयार हुन्छ,’ उनले भने, ‘यो वर्ष तीन हजार माला तयार भएको छ । फूल किन्न दैनिक ठेकदार आउँछ । तर हाम्रो मिहिनेतको मूल्य नै आउँदैन ।’ 

चार जनाको परिवार रहेको उनको छोराछोरी स्कुलमा पढ्न जान्छन् । मालाबाट वार्षिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुने उनले सुनाए । सो रकम केटाकेटी पढाउन, खुवाउन खर्च हुने उनको भनाइ छ । उनले जग्गा भाडामा लिएर फूल खेती गरेका बताए । 

नगरपालिकाबाट फूल खेतीमा बिउ अनुदान 

सूर्यविनायक नगरपालिकाले व्यावसायिक फूलखेती गर्नको लागि फूलको बिउ अनुदान दिँदै आएको छ । सूर्यविनायक नगरपालिकाका नगर उपप्रमुख जानु बस्नेतले नगरभित्रका स्थानीयलाई ८० प्रतिशत नगरपालिका र २० प्रतिशत स्थानीयको लागतमा फूलका बिउ वितरण गरेको बताए । 

तर नगरपालिकाले दिएको फूलका बिउले राम्रो उत्पादन नदिएको गुनासो कृषकको छ । गुण्डुका सीता थापाले नगरपालिकाले दिएको बिरुवा राम्रो नभएपछि अर्कै बिउ रोपेको बताए । फार्म बनाएर रोप्नेको फूल राम्रो भए पनि बाहिर रोप्नेको राम्रो नभएको उनले सुनाइन् । भक्तपुरमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा व्यावसायिक रूपमा मखमली र सयपत्री फूल खेती हुँदै आएको छ । 

तिहारमा भक्तपुरमा वार्षिक चारदेखि पाँच करोडसम्मको फूल बिक्री हुने नगरपालिकाले जनाएको छ । तर स्थानीय तहले व्यावसायिक फूल खेती गर्नेलाई सहयोग नगरेको फूल व्यवसायीहरू बताउँछन् । ताथलीका राम बनमालाले अन्य सामग्रीको भाउ निर्धारण भए पनि फूल र मालाको भाउ निर्धारण गरी नदिएकोमा दुखेसो पोखे । फूलको मूल्य निर्धारण नभएसम्म कृषकहरू बिचौलियाको मारमा पर्ने उनले बताए । 

भक्तपुरमा उत्पादित फूल भक्तपुरभित्रका बजार, काठमाडौँ, ललितपुरलगायत स्थानमा बिक्री हुने उनीहरू बताउँछन् ।

Logo