घुम्नै पर्ने रमणिय कैलालीको घोडाघोडी ताल (भिडियाेसहित)

घुम्नै पर्ने रमणिय कैलालीको घोडाघोडी ताल (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

कैलाली ।

विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवर्धन हुन थालेको छ । घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन् । कोरोना कहरकाबीच पनि अहिले दैनिक रूपमा १ सय बढी पर्यटकहरूले घोडाघोडीको अवलोकन गरी रहेका छन् ।

विश्व रामसार सूचिमा सूचीकृत नेपालका ताल मध्ये कैलाली जिल्लाको घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दर स्थल हो । पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्ने मध्ये घोडाघोडी नपुग्ने वीरलै हुन्छन् । नाम मात्र सुनेका पर्यटकहरूको ध्यान पनि यो तालले खिचेको हुन्छ ।

करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ । तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू समेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ । घोडाघोडीमा तालैतालले ओगटेको मात्र दुईसय ४८ हेक्टर क्षेत्रफल जमिन पर्दछ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ ।

तालछेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ । घोडाघोडी ताल र मन्दिरको अवलोकन दर्शन गर्नका लागि ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको संरक्षणकर्मी दीपक शाहले बताए।

घोडाघोडी घुमघाम गर्नका लागि पर्यटकहरूलाई कुनै असुविधा हुँदैन । घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटलहरु सञ्चालनमा छन् । गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकहरूका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ । घोडाघोडी नगरपालिकाले यसको संरक्षण सम्वद्धनका लागि घोडाघोडी पर्यटन बोर्ड गठन गरेर काम गरिरहेको छ । यो क्षेत्रमा बढी भन्दा बढी पर्यटकहरू भित्र्याउन नगरपालिकाले गुरुयोजना तयार गरेको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले बताए।

घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित क्षेत्रका रुपमा रहेका छन् । त्यस्तै रैथाने प्रजातिका दर्जनौँ माछाहरू, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन् स्थल बनेको रहेछ घोडाघोडी ताल । ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जङ्गली धानसमेत पाइन्छ । घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चराहरू, ३२ प्रजातिका पुतलीहरू, ११ प्रजातिका गोहीहरू, ७ प्रजाति घस्रिने जन्तुहरू, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेका छन् । सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ ।

Logo