नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गरेको हो । २०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त भएका दाहाललाई प्रमुख आयुक्तको जिम्मेवारी समेत दिइएको छ ।
त्यसैगरी सहसंयोजकमा राजीव खत्री नियुक्त भएका छन् । उनलाई स्काउटको तालिम आयुक्तको जिम्मेवारी समेत दिइएको छ । त्यसैगरी स्काउटको सदस्यहरूमा बबिता कटुवाल, बिजय किशोर झा, हरि बहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोष कुमार थापा, शिव प्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दीपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनार नियुक्त भएका छन् ।
जसमध्ये कटुवालले संगठन आयुक्तको जिम्मेवारी पाएका छन् । नवनियुक्त पदाधिकारीहरुलाई नेपाल स्काउटका प्रमुख तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सोमबार शपथ गराएका हुन् । मन्त्रालयको सभाहलमा भएको शपथ ग्रहण कार्यक्रममा मन्त्री अथकले नवनियुक्त पदाधिकारीहरुलाई शपथ खुवाउँदै स्काउटको अन्तराष्ट्रिय मूल्य मान्यताको परिधिमा रही कर्तव्य निर्वाह गर्न निर्देशन समेत दिए ।
स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै मर्यादित, अनुशासित तथा देशभक्त समाज निर्माणकालागि अग्रणी भूमिका खेल्न मन्त्री अथकले नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई निर्देशन दिए। सबै सामुदायिक विद्यालयमा स्काउट विस्तार गरी प्रत्येक घरमा कम्तीमा एक जना स्काउट उत्पादन गर्न सके युवा पुस्तामा सकारात्मक धारणाको विकास गर्न सकिने भन्दै विश्वास समेत व्यक्त गरे । समितिलाई १ वर्षभित्र निर्वाचन गराउने जिम्मेवारी समेत तोकिएको छ ।





























प्रतिक्रिया