एएफसी कप खेल्न मच्छिन्द्रलाई बाटो खुला, फ्रेन्ड्सलाई रेलिगेसनको चिन्ता

एएफसी कप खेल्न मच्छिन्द्रलाई बाटो खुला, फ्रेन्ड्सलाई रेलिगेसनको चिन्ता

केन्द्रबिन्दु
0
Shares

पाँचौँ चरणसम्म एएफसी कप खेल्न शीर्ष स्थानमा आफ्नो पकड बनाएको मनाङ मर्स्याङ्दी क्लब मच्छिन्द्र फुटबल क्लबसँग पराजित हुँदा सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा गुमायो । 

शनिवार बल पोसेसन र आक्रमणमा मच्छिन्द्रभन्दा बढी प्रभाव जमाएको मनाङ अन्तिम समयमा सेट पिसको सिकार बन्यो । सुनिल बलको आकर्षक फ्री किक गोल मद्दतमा मच्छिन्द्रले मनाङमाथि  १-० को जित निकाल्दै शीर्ष स्थानमा आफ्नो कब्जा जमायो । 

शीर्ष स्थानमा कब्जा जमाउनुको महत्त्व छुट्टै छ । शीर्ष डिभिजन लिगको छैटौँ चरणको खेल सकिएको छ । सोमबारको एक खेलसँगै छैटौँ चरणको खेल सकिएको हो । यस पटक लिग जित्ने टोलीभन्दा पनि सातौँ चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कप-२०२२ खेल्न छनोट हुनेछ । 

एएफसी कप खेल्न एएफसी लाइसेन्स अनिवार्य हुनुपर्छ । त्यसका लागि मनाङ र मछिन्द्रसँगै विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले मापदण्ड पूरा गरेका छन् । 

आर्मी र एपीएफले एएफसी छनोटबाट हात झिकिसकेका छन् । एएफसी छनोटमा मनाङ र मच्छिन्द्रको लडाइँ छ । छैटौँ चरणको जितले मच्छिन्द्रले सम्भावना बढाएको छ ।

यता, मनाङको भने अंक गणितीय सम्भावना मात्र बाँकी छ । यदि सातौँ चरणमा मच्छिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भए र मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)लाई पराजित गरे मात्र मनाङको सम्भावना रहन्छ । 

जारी शीर्ष डिभिजन लिगमा मच्छिन्द्र १४ अंकसहित शीर्ष स्थानमा छ । यता, १३ अंकसहित मनाङ दोस्रो स्थानमा छ । १२ अंकसहित संकटा तेस्रो स्थानमा रहँदा आर्मी १० अंकसहित चौथो स्थानमा छ । समान ८ अंकका सातदोबाटो र हिमालयन शेर्पा पाँचौँ र छैटौँ स्थानमा छन् । 

समान ७ अंकको थ्री स्टार, न्युरोड टिम एनआरटी र जावलाखेल क्रमशः सातौँबाट नवौँ स्थानसम्म छन् । यता, ६ अंक बनाएको पुलिस १० औंस्थानमा छ भने समान ५ अंकका एपीएफ र बीबीसी ११ र १२ औँ स्थानमा छ । चार अंकको च्यासल र तीन अंंकको फ्रेण्ड्स भने रेलिगेसन जोनमा छन् । 

जारी लिगमा ६ चरणसम्म तीन अंक बनाएको फ्रेण्ड्सलाई भने रेलिगेसनको चिन्ता छ । खराब प्रदर्शनलाई निरन्तरता दिएको फ्रेन्ड्स लिगको इतिहासमा पहिलो पटक रेलिगेसन पर्ने संघारमा छ । 

समग्रतामा छैटौँ चरणमा १६ गोल निस्किए । एपीएफ र एनआरटीको खेलमा लिगकै सर्वाधिक ६ गोल भए । खेल भने नतिजाविहीन रह्यो । यता, शेर्पाले समेत च्यानलविरुद्ध ३-१ को ठुलो जित पायो । दुई खेल मात्र गोलविहीन रहे । 

अब, सातौँ चरणको खेल शुक्रवारबाट सुरु हुनेछ । ६ खेल दशरथ रंगशालामा हुँदा एक खेल पोखरा रंगशालामा हुनेछ । 

छैटौँ चरणको नतिजा 

एपीएफ फुटबल क्लब ३-३ न्यरोड टिम एनआरटी
नेपाल पुलिस ०-० फ्रेण्ड्स
हिमालयन शेर्पा क्लब ३-१ च्यासल युथ क्लब
मनाङ मर्स्याङ्दी क्लब ०-१ मच्छिन्द्र फुटबल क्लब 
संकटा क्लब ३-० ब्रिगेड ब्वाईज क्लब
थ्री स्टार क्लब ०-० त्रिभुवन आर्मी फुटबल क्लब
सातदोबाटो युथ क्लब ०-२ जावलाखेल

Logo