अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयको टोली हिमालय एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो।
काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए।
संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अप्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेवारी भएको उनको भनाइ छ।
नेपालको इतिहासमा पहिलो पटक यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाउन लागेको मन्त्री खड्काले जानकारी दिए। उनले भने, ‘हामी ठूला प्राकृतिक तथा दैविक विपदमा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौँ नै तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ।’





























प्रतिक्रिया