आजबाट सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको निर्णयअनुसार गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गरेकाे हो ।
जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नु पर्नेछ।
सबै निकायहरुले खोप कार्ड हेरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ। जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ।
सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनोलगायत बन्द गर्ने निर्णय भएको छ। यस्तै शैक्षिक संस्थाहरुले भौतिक रुपमा पठन पाठन नगर्ने निर्णय भएको छ भने परीक्षाहरु पनि स्थगित गर्ने निर्णय भएको छ। विश्व विद्यालय वा आयोगको पूर्वनिर्धारित विशिष्ठ प्रकृतिको छनौट परीक्षाको हकमा भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ।
सार्वजनिकस्थलमा भौतिक दुरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, विदेशबाट आउँदा ५ दिन होम क्वारेन्टिनमा बस्न पनि स्थानीय प्रशासनले आदेश दिएको छ।
यसैगरी सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपरमार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी हुन नपाइने निर्णय गरिएको छ भने खोप कार्ड पनि अनिवार्य गरिएको छ।
यस्तै विवाह, ब्रतबन्ध,लगायतका सामाजिक कार्यमा २० जनाको उपस्थिति हुन छुट दिइएको छ भने पार्टी प्यालेस प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनुपर्नेछ । यस्तै स्वास्थ्य मापदण्ड पालना गरेर रेस्टुरेन्ट खोल्ने, जोर बिजोरका आधारमा निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्ने, मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश नदिने निर्णय पनि प्रशासनले गरेको छ।





























प्रतिक्रिया