पछिल्लो १४ दिनमा नेपालमा ९३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो १४ दिनमा ९३,३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ संक्रमित थपिएका थिए। आइतबार थपिनेकाे संख्या ६ हजार ४६२ रहेकाे छ।
दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको हाे।
नेपालमा देखिएका संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट
नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।
३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।
आइतबार ६,४६२ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ।
मन्त्रालयका अनुसार १३ हजार ३७७ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ। पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना डिस्चार्ज भएका छन् भने मृत्यु चार जनाको भएको छ।
काठमाडौं उपत्यकामा ३,७९१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा ३,७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २,८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो।
१४ दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।
माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए। माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। आइतबार ६,४६२ संक्रमित थपिएका छन्।





























प्रतिक्रिया