त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट श्रृंखलामा नेपाल शतप्रतिशत जितसहित फाइनलमा प्रवेश गरेको छ। शनिबारको खेलमा मलेसियालाई ८५ रनले पराजित गरेसँगै नेपाल फाइनलमा पुगेको हो।
नेपालको जितसँगै पपुवा न्युगिनी (पिएनजी) पनि नेट रनरेटको आधारमा फाइनल प्रवेश गरेको छ। अब उपाधिका लागि सोमबार नेपाल र पिएनजीबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाएर १३८ रनमात्रै बनाउन सक्यो । हारसँगै मलेसियाको फाइनल पुग्ने सम्भावना सकिएको हो। आजको खेल जितेको खण्डमा मलेसिया फाइनल पुग्ने समिकरण थियो ।
मलेसियाको ब्याटिङमा ओपनर विरन्दीप सिंहले सर्वाधिक ४७ रन बनाए । यसबाहेक, कप्तान अहमद फैजले ३३, अैनोल हाफिज र सेद अजिजले समान १७ रन जोडे। मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछाने सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका सन्दीपले १९ रन खर्चिए ।
यस्तै, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेल र रोहितकुमार पौडेलले एक एक विकेट लिए। यसअघि मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले मलेसियासामु दुई सय २४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
टस हारेर ब्याटिङमा आएको नेपालबाट निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२३ रनको योगफल तयार गरेको थियो। नेपालको ब्याटिङमा दीपेन्द्रले सर्वाधिक एक सय १० रनको अविजित इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । उनले ५५ बलमा शतक पूरा गरेका थिए ।
ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पहिलो तथा नेपालको चौथो शतक हो। यस्तै, रोहितकुमार पौडेलले अर्धशतक बनाएका थिए । उनी ३४ बलमा ५१ रन बनाएर आउट भए । रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेको थिए ।
यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रन बनाएकार आउट भएका थिए। यसबाहेक, आरिफ शेख दुई रनमा आउट हुँदा आदिल अन्सारीले १४ रन बनाए ।
मलेसियाका मुहम्मद वफिक, पवनदीप सिंह, स्यार्जुल इद्रुस र मुहम्मद अमिरले समान एक विकेट लिए । नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रनले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा पिएनजीलाई ३७ रनले पराजित गरेको थियो।





























प्रतिक्रिया