मोरङमा लेटाङस्थित एक विद्यालयमा महिला प्रहरीको ज्यान जानेगरी भएको घटनामा प्रहरीले २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । उनिहरुविरुद्ध सोमबार प्रहरीले मुद्दा दर्ता गरेको हो हो । घटनामा संलग्न भएको आशंकामा थप ४३ जनाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक विजय पौडेलले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रमण गर्दा गत चैत ६ गते महिला प्रहरी जवान उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।
२६ बर्सिया प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएपछि घटनामा संलग्न भएको आरोपमा प्रहरीले दर्जनौँ व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । घटनामा संलग्न भएको पुष्टि गर्दै २० जनाविरुद्ध मोरङ प्रहरीले जिल्ला अदालतमा सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो ।
ज्यान मुद्दा पर्नेमा लेटाङ ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्र कान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संजय मगर रहेका छन् ।
त्यसैगरी छिमेकी मिक्लाजुङ २ घर भई लेटाङ ५ मा बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सनिल लिम्बु, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया