नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् । उनले कांग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरा मात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने भन्ने बारेमा पहलकदमी गरिरहेको बताए।
महामन्त्री शर्माले स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए ।
केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका ५ दल एक एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए । त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भएपनि सुन भएको जिकिर गरे।
महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी राष्ट्रिय रुपमा विजयी बन्दैछ। कांग्रेस पार्टी अहिले पहिलो पार्टी बनेर जाँदै गर्दा केवल विजयी हासिल गर्ने कुरो भन्ने मात्रै सोचिरहेको छैन। यो समाजलाई कसरी सोचेर जाने ? यो समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? दुई खाले, युवा, महिलाको अवस्थालाई एकै ठाउँमा कसरी बनाएर जाने ? भन्ने सोच्न जरुरी छ । नेपाली कांग्रेस पार्टी बलियो ढंगले विजयी बन्दै गर्दा कमरेड केपी ओलीलाई लाग्यो, उहाँले १-१ किलाका ५ वटा ढक हुन् भन्नुभयो, हामी एक्लै क्विन्टल हौँ भन्नुभयो । मेरा जिल्लावासीलाई म विनम्रतापूर्वक भन्छु। हामी उहाँले जस्तै गरी नकारात्मक ढंगले बाेल्दैनौँ तर हिसाब नमिलेपछि हिसाब बुझाइदिनुपर्छ। हामी ५ वटा एक एक किलाका ढक होइनौँ । हामी एक एक तोला मात्रै हौँ । क्विन्टल चाहीँ वहाँ क्विन्टल नै हो । तर एक क्विन्टल आलु र ५ तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो । एकातर्फ हामीलाई एक्लै लड्छौँ आउ, आउ भन्ने र बोक्ने बेलामा कमल थापालाई बोक्ने । काठमाडौंमा सिर्जना सिंहको नेतृत्वमा कांग्रेसले बहुसंख्यक ठाउँ जित्दैछ। अघिल्लो पटक पनि एमालेले एक्लै जितेको होइन, सहारा टेकेको हो । हामी एउटा निर्वाचनमा तालमेल गरेर पहिलो दल बन्ने हो, त्यसपछि तीन वटा निर्वाचनमा जित निकाल्न चाहन्छाैं । एक पटक जित्ने अर्को पटक हार्ने होइन, तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहन्छौँ। त्यसपछि लगातार तीन वटा निर्वाचन रुख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रका एउटा सपनाका साथमा हामी जान चाहन्छौँ।’
महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको बताए । उनले काठमाडौं महानगरपालिकामा यस पटक सिर्जना सिंहको नेतृत्वमा बहुसंख्यक जित दर्ता गर्ने दाबी गरे ।





























प्रतिक्रिया