रोजगारीको अवसर सिर्जना तथा उद्यमशीलता विकास गर्नु स्थानीय तहका प्रमुखको दायित्व हो : विश्वप्रकाश शर्मा

रोजगारीको अवसर सिर्जना तथा उद्यमशीलता विकास गर्नु स्थानीय तहका प्रमुखको दायित्व हो : विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका समस्याको दीर्घकालीन समाधान सम्पूर्ण राजनीतिक दलको साझा दायित्व भएको  बताएका छन् ।

१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज आयोजना गरेको श्रमिक सभालाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धनमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।  

‘भ्रष्टाचार नियन्त्रण, रोजगारीको अवसर सिर्जना तथा उद्यमशीलता विकास स्थानीय तहका प्रमुखका साझा दायित्व हुन्’, उनले भने, मुन्नत नेपाल निर्माणमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै श्रमिकका योगदानलाई राज्यले उच्च मूल्याङ्कन गरिनुपर्ने बताए ।  

महामन्त्री शर्माले मुलुकको सबल अर्थतन्त्र निर्माण गर्न वैदेशिक रोजगारीमा गएका श्रमिकको महत्वपूर्ण योगदान रहेको भन्दै विदेशमा रहेका युवालाई फर्काएर स्वदेशमै रोजगारीका अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।  प्रधानमन्त्री रोजगार कार्यक्रमले अपेक्षित रोजगारी सिर्जना गर्न नसकेको उल्लेख गर्दै उनले मर्यादित र दिगो रोजगारी सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराए ।  

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका युवा तथा महिलालाई सीपयुक्त तालिम दिएर स्वरोजगार बनाइने प्रतिबद्धता गरीन् । घरभित्रका कामलाई श्रमको मान्यता नदिने अवस्थाका अन्त्य गरिने उल्लेख गर्दै उनले श्रमको सम्मान गर्ने अवस्थाको सिर्जना गरिने बताइन् । 

ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहालले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गराउनुपर्ने, मर्यादित काम, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताउनुभयो । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइनुपर्नेमा जोड दिए । श्रमिकसभा अगाडि श्रमिकहरुले भद्रकाली मन्दिरबाट पदयात्रा निकालेका थिए । 

Logo