प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा अब्दुस मियाँले उम्मेदवारी दिने भएका छन् । प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ काठमाडौं क्षेत्र नम्बर-६ बाट उम्मेदवारी दिने उनको निर्णय छ । यसै सन्दर्भमा आगामी आसार ११ गते शनिवार सार्वजनिक कार्यक्रममार्फत उनले आफ्नो उम्मेदवारी घोषणा गर्न बताएका छन् ।
मियाँले विज्ञप्ति निकाल्दै पछिल्लो समय मूलधारका राजनीतिक दलहरूले देखाएको विच्शृंखलता र निराशाजनक कार्यसम्पादनका कारण देशले खोजिरहेको विकल्पमा अझ बढी काम गर्नुपर्ने उत्तरदायीत्व बहन गर्ने उम्मेदवारी दिएको बताएका छन् ।
‘पछिल्लो ५ वर्ष म लगायत कैयन् युवाहरुले पार्टी निर्माणमा आफ्नो ऊर्जा, लगन र समय खर्च गर्यौं। तर प्रथम महाधिवेशनसम्म पुग्न नपाउँदै अधिकांश संस्थापक सदस्यहरुले पार्टी परित्याग गरेको अवस्थामा अध्यक्ष समेतले राजिनामा दिएपश्चात विवेकशील साझा पार्टी विघटन भएको मेरो निष्कर्ष छ । तर वैकल्पिक शक्ति निर्माणको दायित्व र औचित्य सकिएको छैन। निर्वाचनपश्चात वृहत वैकल्पिक शक्तिको पुनर्गठनमा मेरो दायित्व ईमान्दारीपूर्वक निर्वाह गर्नेछु। तर हालका लागि आसन्न निर्वाचन मार्फत प्रतिनिधिसभामा युवा नीति निर्माताका रुपमा उपस्थिति जनाउनुपर्ने भएकाले मैले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने निर्णय लिएको हुँ ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया