नेपाली काँग्रेसबाट स्थानीय तहमा चुनिएका स्थानीय जनप्रतिनिधिहरुले अभिमुखीकरण कार्यक्रमले स्थानीय तहका समस्या समाधान गरी जनमुखी काम गर्न उत्प्रेरित गरेको बताएका छन् ।
कांग्रेसको ललितपुरमा जारी स्थानीय जनप्रतिनिधि लक्षित जनअभिमुखी कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनीहरुले अभिमुखीकरण कार्यक्रमले स्थानीय सरकारलाई थप सशक्त र जनमुखीकरण कसरी बनाएर लैजाने भन्ने बारेमा प्रशिक्षण भइरहेको बताए ।
उनीहरुले स्थानीय जनप्रतिनिधिहरुले गर्नुपर्ने काम, कर्तव्य, अधिकारका बारेमा पनि कार्यक्रममा जानकारी गराइएको बताए । मंगलबार सञ्चारकर्मीहरुसँग बोल्दै नुवाकोटको म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले नयाँ जनप्रतिनिधिलाई काम गर्ने चुनौती रहेको भन्दै कसरी
जनमुखी काम गर्ने भन्ने बारेमा सिकाइएको बताइन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले प्रशिक्षणमा स्थानीय तहलाई सुशासन, पारदर्शिता र जवाफदेहीता, गतिशीलतामा कसरी चलाउन सकिन्छ रु भन्ने बारेमा जानकारी गराइएको बताए । चुनौतीहरुलाई सहज रुपमा कसरी अघि बढाउने कुराको क्षमता अभिवृद्धि गर्ने काम भएकोले कार्यक्रम समय सान्दर्भिक र फलदायी रहेको उनको भनाइ छ ।
रुपन्देहीकै सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले अभिमुखीकरण कार्यक्रममा पारदर्शिता, गतिशीलता, अनुशासनका बारेमा स्थानीय निकायलाई सञ्चालन गर्नुपर्ने कुराबारे जानकारी गराइएको बताए । उनले प्रशिक्षणले स्थानीय तहको विकास निर्माणमा र जनतासँग सरोकारका कामका लागि सहज हुने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्वको बारेमा प्रशिक्षण दिने काम समय सान्दर्भिक रहेको प्रतिक्रिया दिए । उनले यो प्रशिक्षणले मेयर, उपमेयर र वडा अध्यक्ष, उपाध्यक्षको लागि जनमुखी काम गर्न प्रेरित गर्ने बताए ।
नेपाली काँग्रेसले सोमबारदेखि सञ्चालन गरेको स्थानीय जनप्रतिनिधिसँगको अभिमुखीकरण, बधाई एवं शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार समापन हुनेछ ।





























प्रतिक्रिया