बागलुङ। जैमिनी नगरपालिका–६ अर्जेवा स्थित नेशनल पिस क्लबको दोश्रो वार्षिकोत्सव तथा नयाँ वर्ष मेला विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको कार्यक्रममा खेलकुद, सांस्कृतिक प्रस्तुति र सम्मान कार्यक्रमहरूले स्थानीय क्षेत्र उत्सवमय बनेको थियो।
उक्त अवसरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, डान्स आईडल प्रतियोगिता, ज्येष्ठ नागरिक सम्मान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। अर्जेवाका चार विद्यालयका आठ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा लोकदोहोरी गायक चित्रसागर श्रेष्ठ र गायिका सलिना गुरुङको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।
प्रतियोगितात्मक नतिजाअनुसार पुरुष भलिबलमा कालुङखोला पैयु प्रथम, आयोजक ‘ए’ टिम दोस्रो, विश्वकर्मा समाज राङखानी तेस्रो र आयोजक ‘बी’ टिम सान्त्वना स्थानमा रहेका छन्। महिला भलिबलतर्फ मिलन क्लब जैदी प्रथम र जनप्रिय बोर दोस्रो भएका छन्। त्यस्तै डान्स आईडल प्रतियोगितामा रेनिसा केसी प्रथम, परिना केसी दोस्रो र परिसा खड्का तेस्रो भएकी छन्।
कार्यक्रम क्लबका अध्यक्ष लालबहादुर खड्काको अध्यक्षतामा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा कलाकार अर्जुन थापा मगरले गरेका थिए।
स्थानीयस्तरमै खेलकुद र सांस्कृतिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो कार्यक्रमले समुदायमा एकता र उत्साह थपेको आयोजकले बताएका छन्।































प्रतिक्रिया