दुबई जाँदै हुनुहुन्छ ? यी सुविधा निशुल्क उपभोग गर्न पाइन्छ

दुबई जाँदै हुनुहुन्छ ? यी सुविधा निशुल्क उपभोग गर्न पाइन्छ


दुबई, १९ मंसिर । दुबई नेपालीको लोकप्रिय श्रम गन्तव्य भएपनि पछिल्लो पटक पर्यटकिय भ्रमणका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ । विश्वकै सुन्दर शहरमध्येको एक हो दुबई । गगनचुम्बी भवनका साथै मरुभूमिको सफारीले पर्यटकलाई आमन्त्रण गरिरहेको हुन्छ । दुबई सुन्दर, लोभलाग्दो शहर मात्र होइन, विश्वकै महंगो मध्येको शहर पनि हो । तर, दुबईको यात्रामा केही यस्ता सुविधा उपभोग गर्न पाइन्छ, जसका लागि पैसा खर्चनु पर्दैन ।

दुबई फाउन्टेन

विश्वकै अग्लो भवन बुर्ज खलीफा दुबईको शान हो । पर्यटक सबैभन्दा पहिला यहि नै आउँछन् । त्यसकै सामुन्नेमा दुबई फाउन्टेन देखिन्छ । त्यहाँ हुने वाटर शो निशुल्क दृश्यावलोकन गर्न सकिन्छ । यहाँ फाउन्टेनको वाटर एक सय चालिस मिटरको उचाईसम्म पुग्छ ।

अल कुदरा लेक

दुबईको अल कुदरा लेकलाई सबैभन्दा सुन्दर ताल मानिन्छ । यो पिकनिक स्पट पनि हो । सबैभन्दा राम्रो त के भने, यस तालको वरिपरि मा क्याम्प लगाएर बस्न सकिन्छ, त्यसको कुनै शुल्क लाग्दैन ।

खुला स्थानमा मुभी


दुबईमा सिनेमा घरमा छिरेर फिल्म हेर्नु निकै महंगो हुन्छ । तर, यहाँ एक यस्तो स्थान छ , जहाँ खुला आकाशमुनी फिल्म हेर्न सकिन्छ, आरमसाथ । त्यसको कुनै पैसा लाग्दैन । ऊद मेथाको रुफटप गार्डेनमा पर्यटकका लागि यस्तो व्यवस्था गरिएको छ । वीन ब्यागमा बसेर स्न्याक्स खादै फिल्म हेर्न सकिन्छ ।

दुबई म्युजियम एन्ड अल फहीदी फोर्ट


यदि ऐतिहासिक स्थानको भ्रमण गर्ने सोंच छ भने दुबई म्युजियम जानुपर्छ । यो अल फहीदी पोर्टमा अवस्थित छ । यो सैयौं बर्षैअघिको ऐतिहासिक किल्ला पनि हो । किल्लाको छेउमा खाडी देशको इतिहास जान्न सकिन्छ ।

जबील पार्क


दुबईमा त्यसो त दर्जनौ पार्क छन् । तर, जबील पार्क फरक छ । यो पार्कको सौन्दर्य रसपान गर्न सकिन्छ । साईकिलिङ गर्न सकिन्छ, स्विमिङ गर्न सकिन्छ । बगैंचामा डुल्न सकिन्छ । यी सबै गरेको कुनै शुल्क लाग्दैन ।

जबेल हफीत


दुबईमा आउने पर्यटकहरु यहाँको सबैभन्दा अग्लो भवन बुर्ज खलीफाबाट शहर हेर्न चाहन्छन् । यसको लागि पैसा तिर्नुपर्छ । तर, शहरको सुन्दरता हेर्नका लागि जबेल हफीत पहाड चढ्न सकिन्छ, जहाँ कुनै शुल्क लाग्दैन ।

 

Logo