काठमाडौँ । तिहारलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा पुष्प मेला सञ्चालन भइरहेको छ । बिहीबार अर्थात् हिजोबाट सुरु भएको उक्त मेलामा दैनिक सयौं संख्यामा फूलका पारखीहरू पुग्दै आएका छन् ।
फ्लोरिकल्चर एशाेसिएसन नेपालले आयोजना गरेको ‘१७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१’ नामक यो पुष्प मेला ११ गतेसम्म सञ्चालन हुनेछ । सजावटका लागि फूलको प्रयोग गर्ने तथा घरको बगैँचामा फूल रोप्ने प्रचलन बढ्दो जाँदा अहिले फूलको माग पनि ह्वातै बढेको व्यवसायीहरू बताउँछन् ।

तिहार नजिकिएको विषयलाई मध्यनजर गर्दै उपभोक्तालाई फूल छनोट गर्नको लागि मद्दत पुगोस् भन्ने उद्देश्यले मेलाको आयोजना भएको फ्लोरिकल्चर एशाेसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले बताए ।

‘मेलामा अहिले ग्राहकको संख्या बढ्दो छ, नर्सरी गरिएर राखिएका फूलदेखि यहाँ विभिन्न प्रकारका फूलका साथै फलफूलका बिरुवासमेत हुँदा ग्राहकको उपस्थिति बढेको हो,’ उनले भने । सरकारले फूल उत्पादनका नीति नियम बनाइ सहजीकरण गरिदिए छिट्टै नेपाल फूलमा आत्मनिर्भर हुने तामाङको भनाइ छ ।
फूलका पारखीहरू आफ्नो घरको बगैँचामा वा गमलामा विभिन्न प्रकारका फूलहरू रोप्न रुचाउँछन् । सोही विषयलाई मध्यनजर गर्दै फूलका व्यवसायीहरूले नयाँ/नयाँ प्रकारका फूल उत्पादन गर्दै आइरहेका छन् । उक्त फूल किन्नेहरूको मेलामा अहिले घुइँचो छ ।



































































प्रतिक्रिया