काठमाडौँ । एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहा अवतार’ मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्मका लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरू फाइनल भइसकेका छन् ।
कलाकाको लाइनअपमा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिएका छन् । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो । निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यसअघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए । ‘नरसिंहा अवतार’मा ताम्राकारको कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि फिल्मको शीर्षमध्ये एक भूमिकामा अनुबन्धित गराइएको निर्देशक भट्टराईले जनाकारी गराए ।
यसअघि यो फिल्ममा राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भएका छन् । निर्माणपक्षले यो फिल्ममा यी सबैजना कलाकारको के कस्तो भूमिका छ भन्ने विषयमा पनि केही खुलाएको छैन ।
यही फिल्मबाट ८ वर्षपछि हमालले कम्ब्याक गर्दै छन् । आठ वर्षभन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत्त तताएको छ । यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जसकारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।
यता, क्याप्टेनपछि निर्देशक भट्टराईको फिल्ममा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिन लागेका हुन् । उनीहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त फिल्मपछि यी दुईले सँगै काम गरेका छैनन् ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौको अन्तिम साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टराईका अनुसार अब यो फिल्मको केही दिनमै प्रदर्शन मिति तय गरिने छ ।
प्रतिक्रिया