वैदेशिक रोजगारीको मार्मिक कथामा आधारित ‘रियाल रिङ्गेट’ साउन १६ बाट रिलिज हुने

वैदेशिक रोजगारीको मार्मिक कथामा आधारित ‘रियाल रिङ्गेट’ साउन १६ बाट रिलिज हुने

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको हृदयस्पर्शी कथालाई जीवन्त रूपमा प्रस्तुत गर्ने चलचित्र ‘रियाल रिङ्गेट’ आगामी साउन १६, बाट देशभर प्रदर्शनमा आउने भएको छ।

रेबेल फिल्म्सले शुक्रबार एक भावपूर्ण पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। विभोर पोखरेलको निर्देशन र गगनलाल प्रधानको निर्माणमा बनेको यो चलचित्रले नेपाली युवाहरूको विदेश यात्रा र त्यसमा लुकेका कठोर यथार्थलाई उजागर गर्छ। कथालाई प्रदीप भारद्वाजले लेखेका छन्, जसले वैदेशिक रोजगारीको पीडा र भावनालाई गहिराइमा पुर्याएका छन्।

‘रियाल रिङ्गेट’ नाम कतार र साउदी अरबको मुद्रा ‘रियाल’ र मलेसियाको मुद्रा ‘रिङ्गेट’बाट प्रेरित छ, जुन नेपालीहरूले रोजगारीका लागि रोज्ने प्रमुख गन्तव्यहरूको प्रतीक हो। चलचित्रको पोस्टरले भावनात्मक गहिराइ र कथाको मर्मलाई स्पष्ट रूपमा झल्काउँछ। पोस्टरको ट्यागलाइन, “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो”,ले विदेशमा सपना बोकेर जाने नेपाली युवाहरूको आशा, पीडा, शोषण र कहिलेकाहीँ त्रासदीपूर्ण यथार्थलाई एक वाक्यमा समेट्छ। यो मार्मिक पङ्क्ति कवि नाथन रायनले रचना गरेका हुन्।

चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरी लगायतका कलाकारहरूको अभिनय छ। निर्देशक विभोर पोखरेल, जो हजारौँ म्युजिक भिडियो निर्देशनको अनुभव बोकेका छन्, र निर्माता गगनलाल प्रधान, जो दशकौँदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन्, यो चलचित्रको मुख्य आधार हुन्।

चलचित्रको अन्य पक्षमा पनि उत्कृष्ट टिम छ। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफीले कथालाई जीवन्त बनाएको छ। गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत छ, जसमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वरले भावनालाई थप गहिराइ दिएको छ। गीतका शब्दहरू अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका छन्।

यो चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालको चितवन, काठमाडौं र लेटाङमा गरिएको छ, जसले कथालाई स्थानिय र अन्तर्राष्ट्रिय परिवेशमा जीवन्त बनाउँछ। चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्नेछ।

Logo