सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

केन्द्रबिन्दु
42
Shares

भरतपुर । चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनमवी पर्वमा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन्।

चैत्र शुक्ल सप्तमी, अष्ठमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी भक्तजन उपस्थित भएका सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताए। “चैतेदसैँका अवसरमा यहाँ लाग्ने मेलामा चैत्र शुक्ल सप्तमीका दिनमात्रै एक लाख भक्तजनको उपस्थिति रहेको थियो”, उनले भने, “त्यसपछि अष्टमी र नवमीका दिनमा भक्तजनको उपस्थिति भयो।”

वर्षमा एक पटकमात्रै भक्तजनको ठूलो उपस्थिति रहने सोमेश्वर कालिका मन्दिर नेपाल र भारतको सिमाना (दशगजा)मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो। माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर कालिका नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रूपमा रहेको पोखरेलको भनाइ छ।

“केही वर्ष अगाडिसम्म चैतेदसैँका बेला ९५ प्रतिशत भारतीय तीर्थयात्री र पाँच प्रतिशतमात्रै नेपाली तीर्थयात्री आउने गरेका थिए”, उनले भने, “अहिले पनि नेपालीभन्दा भारतीय बढी आउँछन्, तर तुलनात्मकरूपमा नेपाली तीर्थयात्री बढ्दै गएका छन्।” सोमेश्वर कालिकाको दर्शन गरेमा मागेको कुरा पाइने विश्वासका आधारमा यहाँ भक्तजन दर्शन गर्न आउने गरेका उनले बताए।

उनले भने, “यसपालि पनि पाँच दम्पती दूधेबालक लिएर सोमेश्वर कालिकाको प्रसाद हो भन्दै माथा टेकाएर गए।” यहाँ आउनका लागि सडक सञ्जालको विकास भएसँगै नेपालतर्फबाट आउने तीर्थयात्रीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको उनले बताए।

“चैतेदसैँको मेला व्यवस्थापनका लागि हामी नौ दिनसम्म यही स्थानमा बसेर सबै काम गरेका थियौँ”, उनले भने, “राम नवमीको दिनबाट मेला सकिने भएको हुँदा भक्तजनको उपस्थिति घट्दो क्रममा छ।” सोमेश्वर कालिका मन्दिर दशगजा क्षेत्रमा पर्ने भएकाले भारतले यहाँ संरचना निर्माण गर्न नदिएका कारण लाखौँ भक्तजनको आस्थाको केन्द्रमा सानो मन्दिर भएको उनको भनाइ छ।

“यो ठाउँ दशगजामा पर्ने क्षेत्र भएकाले दुई देशको सहमतिबिना यहाँ केही काम पनि गर्न सकिँदैन, दुई देशका नागरिकको आस्था रहेको सोमेश्वर कालिका मन्दिरसमेत जीर्ण भएको छ”, उनले भने। माडी नगरपालिका–५ मा पर्ने मन्दिर र गढी क्षेत्र वसन्तपुर बजारबाट १४ किलोमिटरको दूरीमा पर्दछ।

Logo