लामखुट्टेबाट बच्न प्रयोग गरिने सामग्री अभाव

लामखुट्टेबाट बच्न प्रयोग गरिने सामग्री अभाव

केन्द्रबिन्दु
0
Shares

नेपालमा डेंगु संक्रमण बढेसँगै लामखुट्टेबाट बच्न प्रयोग गरिने केही सामग्रीको अभाव देखिएको छ ।

अल आउट, गुड नाइट, मोरटेन जस्ता लिक्विड सहजै पाइएपनि ओडोमोस क्रिम र डा. मोस जस्ता सामान अभाव हुन थालेको हो । डेंगुको संक्रमण बढ्दै गएपछि प्राय सबै विद्यालयले नै विद्यार्थीहरुलाई शरीरका खाली भागमा ओडोमोस क्रिम लगाएर मात्र बालबालिका पठाउन भनेको छ । जुनसुकै बेला प्रयोग गर्न सकिने, बोकेर हिँड्न मिल्ने ओडोमस जस्ता क्रिमहरूको अभाव भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुुसार मंगलबारसम्म देशभर २७ हजार ५ सय ६९ जना डेंगी संक्रमित छन् । दशैँमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने हुँदा डेंगुको प्रकोप देशव्यापी हुने जोखिम रहेको विज्ञहरू चेतावनी दिएका छन् । डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण हो  । त्यसैले लामखुट्टेबाट बच्न विगतमा ‘ओडोमोस’ क्रिम र स्प्रे प्रयोग गरिन्थ्यो । तर यस वर्ष डेंगी संक्रमण फैलिनु अगावैदेखि ‘ओडोमोस’ क्रिम अभाव भएको फार्मेसी सञ्चालकहरूको भनाइ छ  ।

झन्डै तीन महिनादेखि ओडोमोस क्रिम पाइन छाडेको मेडिकल संचालकहरुको भनाई छ । बजारमा अभाव खट्किए पनि भन्सार विभागको तथ्यांकले गत वर्षको तुलनामा यस वर्ष मूल्य बढेको र परिमाण घटेर आयात भएको देखाएको छ  । चालु आर्थिक वर्षको साउन–भदौमा ८ करोड ९५ लाख १ हजार रुपैयाँको लामखुट्टे र कक्रोचलगायतका घरायसी कीटनाशक उत्पादन भित्रिँदा गत वर्ष ८ करोड ७५ लाख ३३ हजार रुपैयाँको आयात भएको थियो । तर परिमाणको हिसाबले गत आर्थिक वर्षको साउन–भदौमा १ लाख ७९ हजार ४ सय १० किलो भित्र्याउँदा यस वर्ष १ लाख ४० हजार ८ सय ८५ किलो मात्रै आयात भएको विभागको तथ्यांक छ  । 
 

Logo