कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले सरकारी निकायहरुमा स्वदेशमा नै बनेका सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियमहरु बनाउन सरकारसँग माग गरेको छ ।
क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले सरकारसँग सो माग राखेका हुन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको २५औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए ।
शुन्य भन्सार दरमा आयात हुँदै आएका कम्प्युटरसम्बन्धि सबै सामानहरु मध्ये कम्प्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर केही समयदेखि भन्सार कर लगाउने गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष पोदारले त्यसलाई तत्काल हटाउन पनि सरकारसँग आग्रह गरे ।
यही माघ २९ गतेसम्म चल्ने इन्फोटेक मेला सूचना प्रविधिसम्बन्धि चासो राख्नेहरुका लागि विशेष थलो हुने बताइएको छ । सो इन्फोटेकलाई करिव साँढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको पनि क्यान महासंघले जनाएको छ ।





























प्रतिक्रिया