विपदबाट हुने सम्भावित क्षति रोक्न उच्च तयारी, ७७ जिल्लामै परिपत्र (भिडियोसहित)

विपदबाट हुने सम्भावित क्षति रोक्न उच्च तयारी, ७७ जिल्लामै परिपत्र (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मनसुन न्यून चापीय क्षेत्र नेपाल नजिक आएर आजदेखि पुनः मौसम सक्रिय हुने देखिएपछि विपदबाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार ७७ वटै जिल्लामा परिपत्र गरेर तयारीमा लाग्न निर्देशन दिइएको हो । “सबै जिल्लाका जोखिम क्षेत्र पहिचान भएको ठाउँमा अग्रिम टोली तयारीमा राख्न र आवश्यक उद्धार तथा राहत सामग्री दुरुस्त राख्न भनिएको छ”, प्राधिकरणका प्रमुख अनिल पोखरेलले भने, “सम्भावित क्षति रोक्न क्षमताले भ्याए सम्मको उच्च तयारी गरिरहेका छौँ ।”

यसअघि उच्च तयारी हुँदाहुँदै पहिरोका कारण मुलुकले ठूलो क्षति बेहोरेको छ । यस वर्ष बाढीपहिरो र चट्याङबाट १८१ जनाले ज्यान गुमाइसकेका छन् भने ५१ जना अझै बेपत्ता छन् । सबैभन्दा बढी १२८ जनाको पहिरोका कारण मृत्यु भएको छ । सोमबार साँझदेखि विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले क्षति रोक्न आवश्यक तयारी थालिएको र सर्वसाधारणलाई जोखिम क्षेत्रमा नबस्न भनिएको छ । यसअघि दुईपटक यसरी नै लगातार भारी वर्षा भइसकेको छ ।

पोखरेलका अनुसार स्थानीय तह र प्रदेश सरकारसँग समेत समन्वय गरेर विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न अनुरोध गरिएको छ । जिल्ला प्रशासनलाई सञ्चारमाध्यमबाट आवश्यक सूचना प्रवाह गर्न तथा सुरक्षा निकाय, रेडक्रम एवं सरोकारवाला निकायलाई समेत परिचालन गर्न निर्देशन भएको पोखरेलले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा गराउने मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको छ । विभागले आइतबार एक विज्ञप्ति जारी गरी १२ देखि १६ गतेसम्म नै मौसम सक्रिय हुने जनाएको छ । सोही क्रममा पर्याप्त जलवाष्पयुक्त हावासमेत नेपाल आउनेछ ।

 

Logo