डुवानका कारण भरतपुरमा कृषि बालीमा क्षति, तरकारीको मूल्य दोब्बरले बढ्यो

डुवानका कारण भरतपुरमा कृषि बालीमा क्षति, तरकारीको मूल्य दोब्बरले बढ्यो

केन्द्रबिन्दु
0
Shares

भरतपुर ।

लगातारको वर्षाले जिल्लाका कृषि बालीमा ठूलो क्षति भएको छ । बाढीसँगै खेतबारीमा आवश्यकताभन्दा बढी पानी जम्दा कृषि बालीमा क्षति पुगेको हो ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लाका अधिकांश क्षेत्रमा वर्षाले क्षति गरेको बताए । उनका अनुसार पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्याएको छ भने नदी तथा खोला किनारका बालीमा बाढी पसेर क्षति पुगेको छ । कतिपय बालीमा आवश्यकताभन्दा बढी पानी जम्न गई बालीलाई क्षति पुगेको ढकालले बताए ।

डुवानका कारण भरतपुर महानगरपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान, केरा र तरकारी बालीमा क्षति पुगेको छ । महानगर अन्तर्गत नारायणी नदी तटीय क्षेत्रमा रहेका वडाका कृषि बालिमा बढी क्षति भएको ढकालले जानकारी दिए। महानगरका–२६, २७, २८ १६, १८ र १९ मा बढी मात्रामा क्षति पुगेको छ । भर्खर लगाइएको धान बालीमा बाढी पस्दा धानको रोपो नै बगाएको छ भने कतिपय ठाउँमा लामो समय रोपो पानीले पुरिँदा मर्ने र पहेँलो हुने समस्या देखिएको छ ।

यस्तै जिल्लाका कालिका नगरपालिकामा मुख्यरुपमा धान, मकै र केरा खेतीमा वर्षाले क्षति पुर्याएको छ । कालिकाको पदमपुर क्षेत्र केरा खेतीका लागि प्रख्यात छ । केरा खेतीमा पानी जमेका कारण विरुवा मर्ने, ढल्ने समस्या देखिएको ढकालले बताए । जिल्लाको पहाडी ईच्छाकामना गाउँपालिकामा कतिपय स्थानमा सानातिना पहिरोले पनि कृषि बालीमा क्षति पुगेको ढकालले बताए । विशेष गरी मकै बालीमा क्षति पुगेको उनले जानकारी दिए।

ढकालले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाएर राहतका लागि पहल गरिने बताए । क्षति भएका ठाउँमा प्राविधिकको सिफारिसमा वैकल्पिक खेतीका लागि कृषकलाई आग्रह गरिएको बताए । उनले भने, “बाली क्षति भएका र बढी पानी जमेका ठाउँमा कुन बाली उपयुक्त हुन्छ, सोही अनुसारको नयाँ बाली लगाउन कृषकलाई सुझाव दिइरहेका छौँ ।”

भरतपुर महानगरपालिका–२८ का वडा अध्यक्ष आशबहादुर कुमालले आफ्नो वडाको ७० विघा हाराहारी जमिनमा लगाइएको बाली एक हप्तादेखि डुवानमा परेको बताए । उनले भने’, “वर्षा शुरुभएदेखि डुवेको बाली अझै देखिएको छैन । पानीले डुबाएर राखेको छ ।” भण्डारण गरेको धान र मकैमा पानीले क्षति पुर्याएको कुमालले बताए।

भरतपुर २७ का किसान दीपक तामाङले बाढीले आफ्नो सबै धानखेत डुबाएको बताए। “भर्खर रोपेको धान त डुबायो डुबायो, तयारी गरेर राखेको मकै र तोरी पनि नोक्सान भयो”, उनले भने । चितवनमा २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती र सात हजार १०० हेक्टरमा तरकारी खेती हुने गरेको छ ।

तरकारीको मूल्य बढ्यो

जिल्लाका समथर भू–भागमा अहिले तरकारी खेती कम हुने गर्दछ भने पहाडी क्षेत्रमा केही मात्रामा तरकारी खेती हुने गरेको छ । बाढीपहिरोले बाटो बन्द हुँदा तरकारीको मूल्य बढेको छ । महानगर फलफूल तथा तरकारी बजारका प्रवन्ध निर्देशक थीरप्रसाद धितालले पहाडमा पहिरो र तराईमा डुबान हुँदा तरकारी आपूर्तिमा समस्या भएको बताए । उनले भने, “धादिङ, मकवानपुर, भक्तपुर लगायत उपत्यका आशपासका पहाडी जिल्लाबाट आउने तरकारी समयमा आउन सकेको छैन । ढुवानी शुल्क बढ्न जाँदा तरकारीको मूल्य बढेको छ ।”

त्यस्तै तरकारी व्यवसायी रामराज पाण्डेले लकडाउन र बाढीपहिरोले चितवनमा खोजेको तरकारी पनि पाउन नसकेको बताए । उनले तरकारी माग बमोजिम उपलब्ध नहुँदा मूल्य स्वभाविकरुपमा बढेको बताए।

उनले १० क्विन्टल आवश्यक पर्ने तरकारी पाँच केजी पनि पाउन नसकेको बताए । चितवनमा बाढी पहिरो जानु अघि क्रेटको ६०० पर्ने टमाटर अहिले ८५० सम्म पुगेको चितवनका व्यवसायी बताउँछन् । बन्दा बिक्ने समयमा नै नभए पनि बोराको ९०० सम्ममा बिक्री भइरहेको छ । निर्देशक धितालले बाढी र डुबानका कारणले सबै तरकारीमा प्रति केजी रु पाँचसम्म बढेको जानकारी दिए। यो अवस्था रहिरहे मूल्य अझै बढ्न सक्ने उनले बताए।रासस

Logo