कहिले पाउँछन् काठमाडौँबासीले मेलम्चीको पानी ? ढाँट्दै भाका सार्दै सरकार

कहिले पाउँछन् काठमाडौँबासीले मेलम्चीको पानी ? ढाँट्दै भाका सार्दै सरकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वर्षौं अघिदेखि काठमाडौँबासीका लागि मेलम्चीको पानी ल्याउने सपना तत्काल पूरा नहुने देखिएको छ । अझै पनि मेलम्चीको काम पूरा नभएकाले काठमाडौँबासीले कहिलेसम्म पानी खान पाउँछन् भन्ने टुंगो छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ आर्थिक वर्ष सुरु हुने वित्तिकै मेलम्चीको पानी काठमाडौँ ल्याउने उल्लेख गरेको थियो । त्यस लगत्तै खानेपानी मन्त्री बिना मगरले पनि अब मेलम्ची खानेपानीको उद्घाटन गर्ने दिन धेरै पर छैन भनेकी थिइन । तर यस आयोजनाको कामको गति हेर्ने हो भने तत्काल पानी आउने अवस्था देखिँदैन ।

मेलम्ची खानेपानी प्रमुख तिरेश खत्री भन्छन्, राजधानीवासीको घरघरमा पु¥याउन बिछ्याएको पाइपलाइन परीक्षण गर्नै अझै केहि समय लाग्छ । परीक्षणका लागि केही समय लाग्ने भएकाले तत्काल उपत्यकामा पानी आउने सम्भावना छैन । सुन्दरीजलमा पानी झारेर प्रशोधन गरेपछि वितरण गर्नका लागि आवश्यक सबै पाइपलाइन विस्तारको जिम्मा आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले पाएको छ । पिआइडीले अहिले पाइपलाइन निर्माणको काम गरिरहेको छ । अहिले अन्तिम चरणमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ । यो काम सकेपछि उपत्यकामा पहिलो चरणमा १७ करोड लिटर पानी वितरण गर्ने गरी पाइपलाइन तयार हुने आयोजनाले जनाएको छ ।

पहिलो चरणमा सट रन टेस्ट हुने आयोजनाले जनाएको छ । हालसम्म १३० किमि सट रन टेस्ट भइसकेको छ । यो टेष्ट पाइप बिछ्याउँदा पाइपलाइनमा लिकेज छ, छैन भन्ने थाहा पाउन ट्यांकरको पानीमार्फत गरिने सामान्य टेस्ट मात्रै हो ।

त्यस्तै, दोस्रो चरणमा प्रेसर टेस्ट हुने भएको छ । यो टेष्ट गर्दा मेलम्चीको पानी आएपछि पूर्ण क्षमतामा पानी पठाइन्छ । पानी वितरणका लागि विछ्याइएको पाइपको ज्वाइन्टमा कुनै समस्या छ कि छैन भनेर जाँच गर्न यस्तो टेष्ट गर्ने गरिन्छ । त्यस्तै, तेस्रो चरणमा पाइलाईनको सफाइ गरिन्छ । सफाई गर्दा क्लोरिनको प्रयोग गरिन्छ ।

मेलम्ची खानेपानीले चक्रपथ कभर गर्ने भएको छ । चक्रपथ बाहिर मध्यपुर थिमी, कटुन्जे र कीर्तिपुर लगायतका विभिन्न स्थानहरुमा समेत वितरण हुने आयोजनाले बताएको छ ।

नयाँ प्रणाली प्रयोग गरिँदै

मेलम्ची खानेपानी वितरणमा नयाँ प्रणाली प्रयोग हुने भएको छ । हालसम्म राजधानीमा पानी वितरण गर्न परम्परागत प्रणाली प्रयोग गरिँदै आएको छ । आयोजनाका अनुसार परम्परागत प्रणाली हटाएर अत्याधुनिक नयाँ प्रणाली प्रयोग गर्न लागिएको हो । मेलम्ची खानेपानी व्यवस्थापन गर्न यो प्रणाली अत्यावश्यक छ । यो स्वचालित प्रणाली हो । एउटा रुममा बसेर कम्प्युटरमार्फत वितरणको सम्पूर्ण अवस्था हेर्न सकिने भएकाले यो प्रणाली बढी फाइदाजनक मानिएको छ ।

कहिले पाउँछन् उपत्यकावासीले पानी ?

सरकारले उपत्यकाबासीलाई हरेक वर्ष ढाँट्दै आएको छ । हरेक वर्ष दशैंमा खानेपानी आउँछ भन्दै ढाँट्ने गरेको सरकारले यसपाली नयाँ आर्थिक वर्ष सुरु भएसँगै काठमाडौँबासीले मेलम्चीको खानेपानी खान पाउने घोषणा गरे पनि यसपालीको दशैंसम्म पनि पानी उपत्यका आउने लक्षण देखिँदैन । मेलम्ची २१ वटा राष्ट्रिय आयोजना मध्येको एक महत्वपूर्ण आयोजना हो । केही दिन अघिको महालेखा परिक्षकको तथ्यांकले पनि मेलम्चीको काम ९५ प्रतिशत सकिएको उल्लेख गरेको थियो । तर बाँकी ५ प्रतिशत काम सक्न अझै कति समय लाग्ने हो भन्ने टुंगो छैन । सरकारले उपत्यकाबासीलाई वर्षौंदेखि ढाँट्दै बजेट थप्दै भाका सार्दै गरिरहेको छ । साउन लागेपछि दिने भनिएको पानीको टुंगो अहिलेसम्म लागेको छैन ।

Logo