काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिने बताएका हुन् ।
बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढ्न र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने बताए ।
कोभिड १९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै अर्थमन्त्री पौडेलले भने, पर्यटन र होटल क्षेत्रमा परेको अप्ठ्याराप्रति संवेदनशिल छौं । तपाईँहरु अघि बढ्नुहोस्, सरकार साथमा छ ।’ उनले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखा परेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिँदै कोभिड १९ ले गर्दा सरकारलाई परेको अप्ठ्यारालाई पनि निजी क्षेत्रले बुझिदिन आग्रह गरे ।
यस्तै अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले नीतिहरुमा समस्या नभएको स्पष्ट पार्दै कार्यान्वयनका लागि थप पहल गर्ने बताए ।
पर्यटन तथा होटल व्यवसायीहरुले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढीमा दुई वर्षको हुने उल्लेख भएकोमा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम ४ वर्ष उल्लेख भएकोमा पाँच वर्षको व्यवस्था गर्न, विद्युत डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भइसकेको धितोको भ्यालुमा नै शतप्रतिशतसम्म हुने गरि ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
यस्तै पुनर्कर्जामा प्रति ग्राहक कर्जा सीमा २० करोड रहेकोमा सो रकम भन्दामाथिको आवश्यकता देखिएमा सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउने लगायतका माग गरेका थिए । उनीहरुले पुनर्कर्जा र व्यवसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको बताएका थिए ।
बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल, होटल एशोसियसन अफ नेपाल, रेष्टुरेन्ट एशोसियसन लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।





























प्रतिक्रिया