‘अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक’ -राष्ट्रपति पौडेल

‘अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक’ -राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनकरूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताएको उल्लेख छ । 

नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै राष्ट्रपति पौडेलले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे ।

उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको उनले स्पष्ट पारे । 

“रोजगारी सृजना हुन नसक्नु, विपे्रषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला बेलामा विघ्न बाधा देखा पर्ने गरेका छन् । यसैले गर्दा मूल्य वृद्धिलगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी सार्वजानिक साझेदारी बाञ्छनीय छ भन्ने मलाई लाग्छ”, राष्ट्रपतिले बताएको विज्ञप्तिमा उल्लेख छ ।   

उनले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताए । 

Logo