काठमाडौं ।
कोरोना भाइरसका कारण व्यवसायीहरुले ऋणको सावाँ तथा ब्याज तिर्न नसकेपछि बैंकहरुले व्यक्तिगत खाताको पैसा समेत काट्न थालेका छन् ।
ऋणको साँवा र ब्याज तिर्ने समय कटिसक्दा पनि व्यवसायीहरुले नतिरेपछि बैंकले व्यक्तिगत खाताको पैसा काट्न थालेका हुन् । कोरोना भाइरस फैलिएपछि त्यसको असरबाट बच्न सरकारले गत चैत ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । सो बेलादेखि सबै क्षेत्रका व्यापार व्यवसाय तथा उद्योग धन्दा सबै बन्द अवस्थामा छन् । व्यवसायीको बारम्बारको दबावपछि सरकारले गत वैशाख २८ गते विभिन्न ४४ प्रकारका उद्योगहरु खोल्ने निर्णय गरेको थियो । तर बजार नखुलेको तथा कामदारहरु आवतजावत गर्न पासको समस्या भएकाले पूर्ण रुपमा उद्योगहरु संचालन हुन सकेनन् ।
उद्योग व्यवसाय नै संचालन नभए पनि आम्दानी हुने कुरै भएन । आम्दानी नभएपछि कसरी सावाँ ब्याज तिर्ने ? व्यवसायी प्रश्न गर्छन् । ‘हुँदा हुँदा बैंकले खान राखेको व्यक्तिगत खाताको पैसा पनि काट्न थाले ।’ अटोमोबाइल्स एसोशियशन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले भने । आम्दानी भएको भए ऋणीले आफ्नो ऋण खप्ट्याउन नचाहने भन्दै व्यवसायीलाई बैंकले यसरी दुःख दिनु न्यायसंगत नभएको उनको भनाइ छ । व्यापार पूर्णरुपले ठप्प भएका बेला बैंकले पटक पटक फोन गर्ने, खाताबाट पैसा काट्ने गरेर दुःख दिएको अध्यक्ष दुलालको भनाइ छ ।
कोरोनाका कारण थला परेका व्यवसायीलाई सावाँ र ब्याज तिर्ने म्याद असार मसान्तसम्म सारिएको छ । सो समयसम्म पनि व्यवसायीले सावाँ तथा ब्याज तिर्न सक्ने अवस्था नभएको व्यवसायीको भनाइ छ । सरकारले व्यक्तिगत सवारी संचालनमा ल्याए पनि सार्वजनिक सवारी भने संचालन गर्न सकेको छैन । पूर्ण रुपले ठप्प भएको अवस्थामा सावाँ र ब्याज तिर्न दबाव दिइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघ नेपालका महासचिव सरोज सिटौलाले बताए । व्यवसाय मृत अवस्थामा पुगेका बेला बैंकले नैतिकता विर्सेर व्यवसायीलाई दुःख दिइरहेको महासिचव सिटौलाको भनाइ थियो ।
तर व्यवसायीहरुले भने जस्तो बैंकले दुःख नदिएको बैंकर्स संघकी सदस्य तथा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् । ‘हामीले सकेसम्म सावाँ ब्याजका लागि दुःख नदिन भनेका छौँ ।’ प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले भनिन् ।
व्यवसाय चलिरहेकाहरुले केही मात्रामा सावाँ ब्याज तिर्दै जाँदा आफैंलाई भार कम हुने तथा बैंकलाई पनि सहयोग पुग्ने भएकाले अनुरोध मात्रै गरेको संघका निवर्तमान अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए । व्यवसायीलाई पनि असर नपर्ने र बँैंकलाई पनि असर नपर्ने गरी व्यवसाय चलेको र केही आम्दानी भएकालाई मात्रै अनुरोध गरेको उनको भनाइ थियो । चैतदेखिको सावाँ तथा ब्याज तिर्ने म्याद असोजसम्म सार्दा एकतिर ऋणीलार्ई एकैचोटी धेरै रकम तिर्नुपर्ने र अर्कातिर समयमा लगानी नउठ्दा बैंकको खराब कर्जाको दर बढ्ने जाने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ छ । बैंकको खराब कर्जाको मात्रा बढ्दा पूरै बैंकिङ प्रणाली प्रभावित हुने उनको भनाइ छ ।





























प्रतिक्रिया