वाणिज्य बैंकहरुले घटाए आधार दर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले घटाए आधार दर, कुन बैंकको कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यदि तपाईं बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने बैंकबाट ऋण लिने उपयुक्त अवसर आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासपछि २७ वटै वाणिज्य बैंकहरुले आधार दर घटाउन थालेका छन् । आधार दर घट्नु भनेको ऋण लिने ब्याज दर दिनदिनै सस्तो हुनु हो ।

पछिल्लो समय बैंकहरुले आधार दर घटाएर निकै सस्तोमा ऋण दिन थालेका छन् । राष्ट्र बैंकका अनुसार कोरोना महामारीका कारण विकास निर्माणदेखि लगानीको वातावरण बन्द भएकाले बैंकहरुमा लगानी गर्न मिल्ने १ खर्ब ११ अर्ब रुपैयाँ अधिक तरलता थुप्रिएको छ । बैंकहरुले आधारदर (बेसरेट) लाई आधार बनाएर ऋणको प्रकार अनुसार त्यसमा केही थपघट गरेर ऋणीहरुलाई ऋण दिने गरेका छन् ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा वाणिज्य बैंकहरुको आधार दर २.५३ प्रतिशतले घटेको छ । औसतमा बैंकहरुको बेसरेट गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा २.३० प्रतिशतले घटेर चालु आवको पुसमा ७.१९ प्रतिशत कायम भएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तमा २७ बैंकहरु मध्ये २ वटा बैंकको आधार दर ५ प्रतिशतको हाराहारी रहेको छ । ८ वटा बैंकको ६ प्रतिशत, १४ वटा बैंकको ७ प्रतिशत र ३ वटा बैंकको ८ प्रतिशतको हाराहारीमा आधार दर कायम रहेको छ । जसमा सबैभन्दा थोरै राष्ट्रिय वाणिज्य बैंकको र सबैभन्दा धेरै सिभिल बैंकको छ । अहिले प्रणालीमा सबैभन्दा महंगो आधार दर भनेको ८.४५ प्रतिशत छ ।

चालुु आर्थिक वर्षको ६ महिनाको अवधिमा सबैभन्दा थोरै आधार दर राष्ट्रिय वाणिज्य बैंकको ५.६१ प्रतिशत बेसरेट रहेको छ । गत आवको पुस मसान्तमा यो बैंकको बेसरेट ६.६० प्रतिशत रहेको थियो ।

त्यस्तै, दोस्रो नम्बरमा थोरै आधार दर भएको बैंक नविल बैंक हो । यस बैंकले गत ०७६ पुसको भन्दा २.३४ प्रतिशतले घटाएर ५.७६ प्रतिशत बेसरेट कायम गरेको छ । ०७६ पुसमा बैंकको बेसरेट ८.१० प्रतिशत थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकको ६.७६ प्रतिशत, सानिमा बैंकको ६.८३ प्रतिशत र हिमालयन बैंकको ६.८३ प्रतिशत बेसरेट चालु आवको पुस मसान्तमा रहेको छ ।

यता सो अवधिमा लक्ष्मी बैंकको ७.२४ प्रतिशत, प्रभु बैंकको ७.२४ प्रतिशत, सनराइज बैंकको ७.२९ प्रतिशत, मेगा बैंकको ७.३८ प्रतिशत, नेपाल एसबीआई बैंकको ७.४९ प्रतिशत र माछापुच्छ्रे बैंकको ७.५६ प्रतिशत बेसरेट रहेको छ । साथैं चालु आवको पुस मसान्तसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.०७ प्रतिशत, नेपाल बैंक ६.१९ प्रतिशत, एभरेष्ट बैंक ६.३४ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट बैंक ६.५६ प्रतिशत र एनआइसी एशिया बैंकको ६.७६ प्रतिशत बेसरेट छ ।

प्राइम बैंकको ७.८५ प्रतिशत, सेञ्चुरी बैंकको ७.९१ प्रतिशत, कुमारी बैंकको ७.९२ प्रतिशत र एनसीसी बैंकको ७.९४ प्रतिशत बेसरेट रहेको छ । सो अवधिमा नेपाल बंगलादेश बैंकको ८ प्रतिशत, सिटिजन्स बैंकको ८.२५ प्रतिशत र सिभिल बैंकको ८.४५ प्रतिशत बेसरेट रहेको छ ।

स्प्रेड दर ४.४ प्रतिशत हुँदा ऋण सस्तोमा
कोरोना महामारीको प्रभावले गर्दा राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाहको लागि स्प्रेड दर ४.४ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । यो व्यवस्थाले गर्दा पनि अहिले बैंकहरुले ऋण निकै सस्तो बनाएका छन् । कुनै पनि व्यापार व्यवसाय सञ्चालनका लागि ऋण लिंदा पहिलेको भन्दा केही सस्तो ब्याजदरमा ऋण पाउन सकिने भएको छ । सरकारी अनुदानवाला ऋणमा ५ प्रतिशत सरकारले नै ब्याज तिरिदिने व्यवस्था गरेको छ । त्यसैले यस्तो ऋणमा ब्याज दर अझ कम पर्ने गर्दछ । अहिले बैंकहरुमा पैसा अधिक तरलता भएका कारण बैंकहरुले ऋण दिने प्रतिस्पर्धा चलिरहेको छ । तर बैंकहरुमा स्थिर ब्याजदर भने अझै पनि केही महंगो रहेको छ ।

 

Logo