ज्योति लाइफको नाफा १ करोड ४५ लाखले बढ्यो

ज्योति लाइफको नाफा १ करोड ४५ लाखले बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १ करोड ४३ लाख ९५ हजार रुपैयाँले वृद्धि गरी ११ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले गतवर्षको यहि अवधीमा १० करोड मात्रै खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीले यस अवधीमा १ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधीको तुलनामा ९४.०८ प्रतिशत (५३ करोड ३३ लाख रुपैयाँले) बढी हो । कम्पनीले गत वर्षको यसै समयमा ५६ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको वित्तीय विवरणले देखाएको छ ।

त्यस्तै, कम्पनीले ३७ करोड ३९ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । जीवन बीमा कोषमा १ अर्ब ४० करोड र महाविपत्ती जगेडामा ४ करोड १५ लाख रुपैयाँ राखेको कम्पनीले जनाएको छ । कम्पनीले यस अवधिसम्ममा १७ करोड ४३ लाख रुपैयाँ बीमा लेखको धितोबापतको कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले ५० लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट ८ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको वित्तीय विवरणले देखाएको छ ।

त्यस्तै, कम्पनीले २ अर्ब ७३ करोड ६० लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ भने २८ करोड ४९ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा लगानी गरेको छ । यस अवधीमा कम्पनीले कुल ४१ हजार १२६ बीमालेख जारी गरेको छ । जसबाट २ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

Logo