वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त, को हुन् घिमिरे ?

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त, को हुन् घिमिरे ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्वसचिव घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।

घिमिरेलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको हो । गत माघमा कार्यकारी अध्यक्ष मदन खरेलले राजिनामा दिएपछि कार्यकारी अध्यक्ष पद रिक्त थियो । नेपाल सरकारका पूर्व पर्यटन सचिव घिमिरे नागरिक उड्डयन क्षेत्रमा गहिरो ज्ञान भएका व्यक्ति मानिन्छन् । घिमिरेले उपसचिव रहदा लामो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा तथा प्राधिकरण सुपरिवेक्षणको जिम्मेवारी हेरेका थिए ।
यसपछि घिमिरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको रुपमा २०६९ पुस २७ गतेदेखि २०७१ साउन ८ गतेसम्म जिम्मेवारी सम्हालेका थिए । घिमिरे यस अवधिमा निगमको संचालक समितिको अध्यक्ष थिए । २८ वर्षदेखि सम्पादन हुन नसकेको नेपाल वायु सेवा निगमको जहाज खरिद प्रक्रियालाई निगमको सञ्चालक समितिको अध्यक्ष तथा मन्त्रालयको सचिवको हैसियतले घिमिरेले सम्पन्न गरेका थिए ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया सुरु गर्नमा पनि उनको महत्वपूर्ण सक्रियता र भूमिका रहेको थियो । ४० वर्षअघिदेखि जग्गा अधिग्रहण गरी कार्यान्वयनमा नआएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको कार्यान्वयन घिमिरे सचिव रहदा कार्यन्वयन सुरु भएको थियो । यसैगरी १० वर्षअघिदेखि कार्यान्वयनमा आउन नसकेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम पनि उनकै कार्यकालमा सुरु भएको हो । सचिवको हैसियतले उनले यी दुबै विमानस्थल सुरुआतमा महत्वपूर्ण काम गरेको भन्दै तत्कालिन मन्त्रीहरुले पनि प्रशंसा गरेका थिए । पर्यटन बाहेक घिमिरले सचिवको रुपमा सञ्चार मन्त्रालय, भूमिसुधार, स्थानीय बिकास, युवा तथा खेलकूद र महालेखा नियन्त्रकको सफल जिम्मेवारी सम्हालेका थिए ।

सचिवबाट अवकाश पाएपछि संयुक्त राष्ट्र संघको उच्च अधिकारीको भूमिकामा रहेर करिब २०/२५ मुलुकका कर्मचारीहरुसँग समन्वय गरेर काम गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रायलको जिम्मेवारी सम्हाल्नासाथ घिमिरेलाई ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ को संयोजक बनाएका थिए । मन्त्री भट्टराईले नेपाल वायुसेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन घिमिरेको संयोजकत्वमा २२ साउन २०७६ मा ५ सदस्यीय ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका थिए । घिमिरको कार्यदलले १ असोज २०७६ मा मन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएका थिए ।

घिमिरकोे कार्यदलले निगमको सुधारको लागि तत्कालीन र दिर्घकालीन रुपमा गर्नु पर्ने कामको सूची बनाएर सुझाव प्रस्तुत गरेको थियो । तत्कालीन भन्नाले तुरुन्त सुरु गरेर एक वर्ष भित्र सक्नु पर्ने र दिर्घकालीन भन्नाले ३ महिना भित्र सुरु गरेर एक वर्ष वा सो भन्दा बढी समय लाग्ने गरी वर्गिकरण गरेर सुझाव दिएको छ ।

निगमको पुनसंरचना, व्यवस्थापकीय पुनसंरचना, संस्थागत पुनसंरचना, गन्तव्य विश्लेषण, बजार व्यवस्थापन, मानव श्रोत व्यवस्थापन लगायतको विषयमा घिमिरेको कार्यदलले दिएको सुझावबाट मन्त्री भट्टराई प्रभावित छन् । निगमको सुधारको लागि निगमको बारेमा जानकारलाई नेतृत्व दिँदा सुधार ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ । नवनियुक्त घिमिरेले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सुधारका विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताए ।

गौरवमय इतिहास रहेको नेपाल वायु सेवा निगम अनेकौँ उत्तरचढावको बीच यहाँसम्म आइपुगेको उल्लेख गर्दै घिमिरले अब यसलाई पछिल्लो प्रतिस्पर्धी बजारमा अब्बल बनाएर लैजानुको विकल्प नभएको बताए । उनले भने–‘गौरवमय इतिहास बोकेको नेपाल वायु सेवा निगमलाई अब्बल बनाएर लैजानुको विकल्प छैन । निकै उत्तरचढाव बीच आएको निगमको वर्तमान चुनौतीपूर्ण छ । कडा मेहेनेतको साथ यसको उज्यालो भविष्यको लागि लाग्नेछु ।’ उनले धेरै मुलुकहरुसँग हवाई सम्झौता भइसकेको अवस्थामा निगमको अन्तराष्ट्रिय बजारमा बलियो प्रतिस्पर्धीको रुपमा स्थापनाको चुनौती रहेको बताए ।

सुधारका शुत्रधार
घिमिरे निजामति क्षेत्रका पनि सुधारका शुत्रधार मानिन्छन् । दूरसञ्चार संस्थानमा करिब तीन वर्ष अध्यक्षको भूमिकामा रहदा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउन महत्वपूर्ण अगुवाई गरेका थिए । निजामति किताब खानामा महानिर्देशक रहदा उनले ‘व्यक्तिगत सूचना प्रणाली’को विकास गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रहदा घिमिरले एकद्धार प्रणालीमा नागरिकता प्रमाणपत्र वितरण गर्ने कार्य सुरु गरेको थिए भने राहदानीको फारम बिहान ८ बजे देखि १०ः३० बजेसम्म संकलन गरी सोहि दिन नै राहदानी वितरण गर्ने प्रक्रिया सुरु गरेका थिए । दूरसञ्चार संस्थानलाई कम्पनीमा परिवर्तन गर्ने समितिको संयोजनको हैसियतले सफलतापूर्वक नेपाल दूरसंचार संस्थानलाई कम्पनीमा परिणत गर्ने काममा उनको नेतृत्वदायी भूमिका रहेको छ ।

२८ वर्षदेखि सम्पादन हुन नसकेको नेपाल वायु सेवा निगमको जहाज खरिद प्रक्रियालाई निगमको सञ्चालक समितिको अध्यक्ष तथा मन्त्रालयको सचिवको हैसियतले सम्पन्न गरेका थिए । घिमिरले प्रशासनिक सुधार आयोगको सदस्यको जिम्मेवारीमा रहेर निजामति सेवा सुधारका लागि तालिम तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी सांगठनिक संरचना समेतको प्रतिवेदन तयार पारेका थिए ।

Logo