सिन्धुपाल्चोक ।
सडकको काममा मजदूरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदूर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ल्याइएका उनीहरु ठेकेदार प्रकाश श्रेष्ठ लकडाउनमा सम्पर्कविहीन भएपछि १० दिनदेखि भोकभोकै परेका हुन् ।
मेलम्ची १० मा बस्दै आएका उनीहरुको समूहमा दुई महिला र र १७ पुरुष छन् । अलपत्र पर्नेमा रोल्पाका ६ र जाजरकोटका १३ जना छन् । ‘हामीलाई काम दिन भनेर ठेकेदारले यहाँ ल्याए तर अहिले आपतको समयमा सम्पर्कविहीन भएकाले अलपत्रमा परेका छौँ’, जाजरकोट छेहेरा गाउँपालिकाका कर्णबहादुर पुन मगरले भने ‘ दैनिक खानका लागि अहिले समस्या भएको छ ।’
उनले डकडाउनका कारण नौ दिनदेखि काम नगरिएको र घर जाने र खाने खर्च नभएको पनि बताए । ठेकेदारको खोजीमा प्रहरी कार्यालयसम्म पुग्दा पनि केही नभएको उनीहरुको गुनासो छ । मेलम्ची १० का वडाध्यक्ष भक्तबहादुर कार्कीले उनीहरु अलपत्र परेकाले राहत दिने प्रक्रिया शुरु भएको बताए।रासस





























प्रतिक्रिया