काठमाडौं ।
चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ ।
चौधरी फाउण्डेसनले मंगलबार निजी क्षेत्रको तर्फबाट पहिलोचोटि सरकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण सामग्रीहरू) हस्तान्तरण गरेको हो । स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउण्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो । कोरोना संक्रमित व्यक्ति पहिचान गर्न ‘पीसीआर रिएजेन्ट’ अति महत्वपूर्ण उपकरण हो ।
फाउण्डेसनले चीनबाट आयात गरेका यी सामग्री ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको यस्तो सहयोग सह्रानीय भएको भन्दै फाउण्डेसनलाई धन्यवाद दिए ।
फाउण्डेशनले आगामी दिनमा पनि थप सहयोग गर्ने जनाएको छ । फाउण्डेसन अध्यक्ष विनोद चौधरीले कोरोना नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई सन्तोष मिलेको बताएका छन् । ‘स्वास्थ्यमा सीमित साधन स्रोत र पूर्वाधार भएको अवस्थामा सरकारसँगको बलियो हातेमालोबिना अहिलेको विपदबाट छुटकारा पाउन सकिँदैन ।’ चौधरीले भने । सरकारी तथा गैरसरकारी क्षेत्रबाट परीक्षण तथा सुरक्षा सामग्री माग उच्च देखिए पनि आफूहरूको पहिलो प्राथमिकता उपचार र परीक्षणमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा भएको चौधरीको भनाइ थियो ।
पहिलो चरण अन्तर्गत चौधरी फाउण्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको छ ।





























प्रतिक्रिया