नागरिक लगानी कोषले नयाँ वर्षदेखि स्टक डिलर संचालन गर्ने

नागरिक लगानी कोषले नयाँ वर्षदेखि स्टक डिलर संचालन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नागारिक लगानी कोषले नयाँ वर्षदेखि स्टक डिलरको काम सुरु गर्ने भएको छ ।

कोषले स्टक डिलर संचालन सम्बन्धी काम लगभग सकिसकेको छ । कोषले स्टक डिलरको कामका लागि कम्पनी दर्ता, संचालक समितिको गठन गरिसकेको छ । यसका लागि कोषले अहिले भवन खोजिरहेको छ ।

नेपाल धितोपत्र, नेपाल स्टक एक्चेन्ज (नेप्से) लगायतमा पत्राचार गर्ने काम भइरहेको कोषका संचालक रामशरण खरेलले बताए । कोषले कति शेयरको कारोबार गर्छ भन्ने चाहीं टुंगो लागेको छैन । संचालक समितिले त्यसको निर्णय गर्नेछ । कोषले संस्थागत रुपमा ठूलो मात्रामा शेयरको खरिद गर्नेछ । तर कति संस्थाको कति शेयर किन्ने भन्ने सीमा बनाएर टुंगो लगाउने संचालक खरेलको भनाई छ । उनका अनुसार कुन संस्थाको शेयर किन्ने, कुन बेलामा किन्ने, कस्तो बेलामा बेच्ने, कम्तीमा कति किन्ने र बढीमा कति किन्ने भन्ने लगायतका सीमा बनाइनेछ ।

कोषले मुलुकमै पहिलो पटक ठूलो संख्यामा शेयरको खरिद बिक्रि गर्न स्टक डिलरको काम सुरु गर्न लागेको हो । सो कोषमा सरकारी क्षेत्रका गैरबैंकिङ संस्थाहरु, नेपाल टेलिकम , पूर्नबीमा, बीमा कम्पनी लगायतका संस्थाहरु सो स्टक डिलरमा आवद्ध छन् । सो स्टक डिलर संचालनका लागि ५ अर्ब रुपैयाँ चुक्ता पूँजी तोकिएको छ । मुलुकमा संस्थागत रुपमा शेयर किन्ने र बेच्ने संस्थाको अभाव भइरहेका बेला कोषले यस्तो काम सुरु गरेको संचालक खरेलको भनाई छ । त्यसो त कोष आफैंमा पूँजी बजारको विकासका लागि स्थापना भएको संस्था हो ।

हाल शेयर बजारमा ५० वटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरु सञ्चालनमा रहेका छन् । अर्काेतर्फ १९ वाणिज्य बैंकहरुले पनि शेयर ब्रोकरको लाइसेन्स लिने तयारी गरिरहेका छन् । १९ वाणिज्य बैंकहरुले ब्रोकरको कारोबार गर्न थालेपछि बजारमा ब्रोकर कम्पनीहरुको संख्या ६९ पुग्नेछ ।

Logo