काठमाडौं ।
डा.युवराज खतिवडा बुधबार पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । संविधानले तोकेको समयभित्र सांसद नबनेको खण्डमा उनको कार्यकाल ६ महिनाभित्र सकिनेछ ।
गत मंगलबार उनको दुई वर्षे कार्यकाल सकिएको थियो । २४ घण्टा पनि नबित्दै उनले पुनः अर्थमन्त्रीमा निरन्तरता पाएका छन् । त्यसो त खतिवडा सरकारका असफल मन्त्री हुन् । सरकारले गरेको कार्यगत मुल्यांकनमा अर्थमन्त्री खतिवडाले राम्रो ‘पर्फमेन्स’ गर्न सकेका थिएनन् । तैपनि उनी प्रधानमन्त्रीको रोजाइमा परेका छन् ।
यतिबेला उनी दोस्रोपटक अर्थमन्त्री बनिरहँदा पुराना चुनौतीसँगै कोरोना भाइरसका कारण अर्थतन्त्रमा पारेको असर नयाँ र ठूलो चुनौतीका रुपमा थपिएको छ । कोरोना भाइरसले विश्व व्यापीरुपमा आर्थिक मन्दी ल्याउने देखिन्छ । अर्थतन्त्रका हरेक क्षेत्रमा यसले असर गर्छ भनेर विज्ञहरुले किटान नै गर्दै आएका छन् । जस्तो, पर्यटन वर्ष मनाउने भनेर सरकारले ३/४ वर्षयता तयारी गर्दै रहेको थियो । त्यसका लागि सरकार लगायत उद्योग, व्यवसायीहरुले अर्बौं लगानी गरेका छन् । होटल–रेष्टुरेन्टहरु थुप्रै खुलेका पनि छन् । त्यसमा प्रत्यक्ष रुपमा असर परेको देखिन्छ । कारण, पर्यटक आगमन सुस्त भएको छ । र, आगमन पूर्णरुपमा सकिनेक्रममा छ । होटल व्यवसाय अहिले नै ठप्प जस्तै भएको छ । बुकिङ भएका होटल धमाधम रद्द हुने क्रम बढेको छ । यस्तो अवस्थाले सरकारले २० लाख पर्यटक भित्र्याउने गरी थालेको तयारी असफल हुने पक्का जस्तै भएको छ । यस्तै अवस्था रहे गतबर्षको जति अर्थात् १३ लाख पर्यटक पनि यस पटक पुग्ने देखिन्न ।
सँगसँगैकोरोना भाइरसका कारण विश्वको वितरण प्रणालीमै असर परिरहेको छ । नेपाल पनि त्यो अप्ठ्यारोमा पर्न सक्छ । त्यसले गर्दा खाद्य सामाग्रीको मूल्य बढ्ने र खासगरी आयातित सामानको मूल्य बढ्ने हुन्छ । त्यस्तै डलरको भाउ पनि बढेको छ । डलरको भाउ बढ्दा रेमिट्यान्समा वृद्धि भएको देखिए पनि आयातित सामानहरुको मूल्य बढ्ने, सरकारको राजश्वमा असर पर्ने लगायतका मुख्य चुनौती रहेका छन् । त्यसलाई व्यवस्थापन गर्नु अर्थमन्त्रीका लागि सबैभन्दा ठूलो चुनौती हो । यसलाई चिर्न सके भने मात्रै डा.खतिवडा सरकारका सफल अर्थमन्त्रीका रुपमा सावित हुन सक्छन् ।
त्यस्तै, अन्य चुनौतीहरु संस्थागत विषयहरुमा छन् । सरकारी खर्च कसरी व्यवस्थापन गर्ने, राजश्व कसरी व्यापक परिचालन गर्ने, करको दायरालाई करको दर बनाइकन कसरी बढी फराकिलो बनाउने, अनौपचारिक अर्थतन्त्रलाई कसरी औपचारिक अर्थतन्त्रमा ल्याउने लगायतका चुनौती त छँदै नै छन् । अर्थमन्त्री खतिवडाले पनि सरकारका अन्य मन्त्रीले जस्तै सरकारी खर्च गर्न नसकेका कारण आलोचित भएका थिए ।
त्यस्तै, बजेट कार्यान्वयन पनि चुनौतीकै रुपमा रहेको छ । उनले खर्च बढाउन सके भने मात्रै आम जनतामा राम्रो छवि बनाउन सक्लान् । त्यसका साथै उनले आफ्नो बोलीमा पनि सुधार ल्याउनु पर्ने देखिन्छ । शेयर बजारका विषयमा बोलेका कुराले लगानीकर्ता उनको अघिल्लो कार्यकाल भरी रुष्ट रहे ।
यस्तो समस्याबाट पार पाउन अर्थमन्त्री खतिवडाले मुलुकलाई ‘प्याराडाइज सिफ्ट’ गराउन उत्पादकत्व बढाउनु पर्ने देखिन्छ । रोजगारी सृजना गर्नुपर्ने अवस्था त छँदै नै छ । यही भित्रको वितरण प्रणाली र पुनःनिर्माणलाई चुस्त दुरुस्त बनाउनु चुनौतीका रुपमै रहेका छन् । यसका साथै वित्तीय क्षेत्रमा सन्तुलन कायम गर्ने चुनौती पनि उनलाई छ । उनी गभर्नर हुँदा वित्तीय सन्तुलन कायम राखेका थिए । कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय रुपमै वित्तीय सन्तुलनलाई असर पर्न सुरु भएको छ । वित्तीय र आर्थिक स्थायित्व कामय गराउनु पर्ने चुनौती पनि छँदै नै छ ।





























प्रतिक्रिया