कोरोना भाइरसको प्रभाव : निर्माणाधिन दर्जनौं आयोजनाको काम प्रभावित

कोरोना भाइरसको प्रभाव : निर्माणाधिन दर्जनौं आयोजनाको काम प्रभावित

केन्द्रबिन्दु
0
Shares

  • अनिस मिजार
    काठमाडौं ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपालको पर्यटनका साथै विकास निर्माण र होटल व्यवसाय प्रभावित भएको छ । त्यती मात्र नभई नेपालमा निर्माणाधिन अवस्थामा रहेका अधिकांश ठूला आयोजनामा पनि यसको प्रभाव परेको छ ।

विशेष गरी चिनीयाँ लगानी र ठेक्कामा निर्माण भइरहेका सडक, जलविद्युत लगायत अन्य विकास निर्माणका दर्जनौँ आयोजनामा समस्या परेको देखिएको छ । सडक विभाग अन्र्तगतको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार कोरोनाका कारण चक्रपथ कलंकी–चावहिल सडक खण्ड, रसुवागढी नाका जोड्ने गल्छी –स्याफ्रुवेशी र पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ गरी तीन सडक निर्माण आयोजना प्रभावित भएको छ । यी तीन सडक निर्माणको काम चिनीयाँ कम्पनीले गर्दै आएका छन् । तर पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसका कारण प्राविधिक तथा कामदार आउन नपाउँदा ती सडक निर्माणको काम प्रभावित भएको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

उनका अनुसार सडक निर्माण गर्ने ठेकेदार कम्पनीका प्राविधिक तथा कामदारहरु चीनमा चाडपर्व मनाउन गएका र उनीहरु चीन पुगेपछि कोरोना भाइरस फैलिएकाले फर्कन नपाएका हुन् । चिनीयाँ निर्माण कम्पनीले अगाडी बढाएका यी सडक निर्माणको काम अब कोरोनाको प्रभाव कम भएर चिनीयाँ प्राविधिक तथा कामदार आएपछि मात्र अगाडी बढ्ने थापाले बताए । रसुवागढी नाका जोड्ने गल्छी—त्रिशूली—स्याफ्रुवेशी—रसुवागढी सडक निर्माण कार्य वि.स.२०७२ मङ्सिरदेखि सुरु भएको थियो ।

६४ किलोमिटरको उक्त सडक खण्डमध्ये स्याफ्रुबेसी—रसुवागढी खण्डको १८ प्रतिशत कार्य चीन सरकारले गरिरहेको छ । उत्तरी छिमेकी चीनसँग जोड्ने लाइफ लाइन मानिने उक्त सडक विस्तार भएपछि दुई देशीय पारवहन सहज हुनेछ । उक्त सडक गल्छी, वेत्रावती धुन्चे, स्याफ्रुबेसी र रसुवागढीहुँदै केरुङसम्म पुग्ने सडकखण्ड हो ।

यस वर्ष करिब ७० करोड रुपैयाँ छुट्याएर सडक स्तरोन्नतिको काम भइरहेको र सडक विस्तार तथा स्तरोन्नतीको काम एक वर्षभित्र सम्पन्न गर्ने योजना रहे पनि भाइरसको प्रभावले काम रोकिएको आयोजनाले बताएको छ ।

त्यस्तै, नारायणगढ–बुटवल १ सय १४ किलोमिटर सडक करिव १५ अर्ब रूपैयाँको लागतमा बन्न लागेको हो । उक्त सडक निर्माणका लागि एशियाली विकास बैंकको ८५ प्रतिशत रकम ऋण सहयोग र बाँकी नेपाल सरकारले खर्च गरिरहेको छ । चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएर काम गरिरहेको छ । त्यसैले उक्त सडक खण्डमा चिनीयाँ कामदारले नै निर्माण गर्न लागेकाले उनीहरु पनि चीन गएकाले यहाँको पनि काम रोकिएको छ । ३ वर्ष भित्र सडक निर्माणको काम सम्पन्न गर्नु पर्नेछ ।

कलंकी–चावहिल चक्रपथको दोस्रो खण्ड सडक निर्माणको काम पनि प्रभावित भएको छ । सरकारले कलंकीदेखि चावहिलको गोपीकृष्ण पुलसम्म ११ किमि सडक विस्तार गर्ने योजना रहेको छ । तर, चिनियाँ कम्पनीले भने ८.३ किमि अर्थात कलंकीदेखि नारायणगोपाल चोकसम्म सडकको मात्र विस्तार गर्ने सडक विभागले जनाएको छ ।

चार लेनको उक्त खण्ड ८ लेनमा विस्तार हुनेछ । कलंकी–महाराजगन्ज चक्रपथ खण्ड विस्तार गर्न ६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सो खण्डका मुख्य—मुख्य क्षेत्रमा आकाशे पुल बन्नेछन । सो खण्डको चिनियाँ कम्पनीले यसअघि नै सर्भे गरिसकेको छ । डीपीआर, ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन समेत चिनियाँ कम्पनीमार्फत नै गर्ने भएको छ । चिनियाँ अनुदानमा दुई बर्षभित्र सम्पन्न हुनेगरी चिनियाँ पक्षलाई सडक निर्माण गर्न जिम्मा दिइने भएको छ ।

पछिल्लो समय नेपालका अधिकांश आयोजनाहरु चिनीयाँ निर्माण कम्पनीले काम गरिरहेकाले पनि कोराना भाइरसको प्रभावले आयोजनाको काम रोकिएको हो । त्यस्तै, जलविद्युत आयोजनामा पनि यसले प्रभाव पारेको छ । विद्युत प्राधिकरण अन्र्तगतका भन्दा पनि चिनीयाँ लगानी तथा निर्माण कम्पनीबाट निर्माण हुन लागेका आयोजनामा बढी समस्या रहको छ ।

चीनबाट प्राविधिक जनशक्ती आउन नसक्दा देशकै ठूलो ढल्केबर सवस्टेशनको काम प्रभावित भएको छ । नेपाल र भारतबीचमा विद्युत व्यापार गर्ने लक्ष्य अनुसार धनुषामा निर्माणाधिन ४०० सय केभी ढल्केवर सवस्टेशनको काम प्रभावित भएको छ ।

यो बाहेक ८६ मेगावाटको सोलुखोला, ४८.८ मेगावाट खिम्ती २, र १११ मेगावाटको रसुवागढी, २७ मेगावाट दोर्दी खोला लगायत मादी खोला, हेवा खोला र काबेली खोला जलविद्युत आयोजनाको काम प्रभावित भएको विद्युत प्राधिकरणले जनाएको छ । काम प्रभावित सम्पूर्ण आयोजनाहरु चिनीयाँ निर्माण कम्पनीले काम गर्दै आएका र आयोजनाका प्राविधिक तथा कामदारहरु चीन गएका र उनीहरु नेपाल फर्कने स्थिती नरहेकाले प्राविधिकहरु आएपछि मात्र निर्माण कार्य अगाडी बढ्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको काममा पनि कोरोना भाइरसको प्रभाव पारेको छ । यो विमानस्थल निर्माणको काम चिनीयाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले काम गरिरहेको छ । विमानस्थल निर्माणमा सबै प्राविधिक तथा कामदार चिनीयाँ नै रहेकाले पनि निर्माणको काम प्रभावित भएको छ ।

Logo