कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी

कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी बेहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी बेहोरेको बताए । उनका अनुसार गएको एक वर्षमा ५५ रुपैयाँ लागत पर्ने चल्ला सरदर प्रतिगोटा २५ रुपैयाँमा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा ३० रुपैयाँ घाटा सहनुपरेको छ । गएको एक वर्षमध्ये ६ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा चार अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले बेहोरेको उनले जानकारी दिए ।

यसैगरी सातामा एक लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले जानकारी दिए। यस्तै मासुमा दैनिक नौ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो ३० रुपैयाँ घाटा बेहोर्नुपरेको उनको भनाइ छ । यसबाट एक वर्षमा नौ अर्ब ७२ करोड नोक्सान भएको उनले बताए ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा तीन हाराहारी नोक्सान भएको बताउँछन् । अण्डाबाट एक वर्षमा तीन अर्ब चार करोड ५० लाख नोक्सान भएको उनले जानकारी दिए । देशभरमा ठूलो सङ्ख्यामा कृषक विस्थापित भएको ओलीको भनाइ छ ।

यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताउँछन् । अन्यले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको उनको भनाइ छ । उनले भने, “सबै धरापमा छन् ।” बर्डफ्लु आउँदासमेत तीनचार महिना नोक्सान बेहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उनको भनाइ छ ।

उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्कोतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको उनको भनाइ छ । एक वर्षअघि प्रतिकिलो २९ रुपैयाँको मकै अहिले ३८ रुपैयाँ पुगेको छ भने ५६ रुपैयाँको भटमास ७२ सम्म पुगेको डा भट्टराई बताउँछन् ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका डा भट्टराई ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५ रुपैयाँ, लेयर्स चल्लाको प्रतिगोटा ९० रुपैयाँ, अण्डा प्रतिगोटाको १० र मासु प्रतिकिलो ३३० पर्ने बताउँछन् । अहिले बजारमा दानाको मूल्य ५३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म पर्ने गर्दछ ।

नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्षसमेत रहेका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताउँछन् । यस क्षेत्रमा एक खर्ब १५ अर्ब लगानी भएको उनको भनाइ छ । यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ ।

लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण शुरु गरेका छन् । हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ३०५ रुपैयाँ, मासु प्रतिकिलो ३८० र ब्रोइलर चल्ला ६५ एवं लेयर्स चल्ला ६० देखि ७० सम्म बिक्री गर्न शुरु गरिएको छ । यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य २०० देखि २२० सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ ।
रासस

Logo