काठमाडौं ।
सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समय सीमा आज सकिएको छ । तर पनि अधिकांश किसानले भुक्तानी पाउन सकेनन् । गत पुस १८ गते सरकारले माघ ७ गतेभित्र उखु बिक्रीबापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराइदिने गरी उखु किसानसँग सहमति गरेको थियो । तर सो सहमतिको अक्षरशः कार्यान्वयन गराउने विषयमा भने सरकार सक्रिय भएर नलाग्दा कृषकले सहमतिको समय सकिंदासम्म पुरै भुक्तानी पाउन नसकेका हुन् ।
त्यतिबेला उखुको बाँकी रकम भुक्तानीको माग गर्दै कृषकहरुले हप्ता दिन भन्दा बढी राजधानीको माइतीघरमा आन्दोलन गरेका थिए । तर सरकार र पीडित उखु किसानहरुवीच सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका थिए । ७ माघभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गरिसक्ने भनेर सरकार र उखु किसानबीच पाँच बुँदे सहमति भएको थियो ।
सहमति सकिंदासम्म चिनी उद्योगले उखु किसानलाई ५९ करोड १६ लाख ५४ हजार ७५२ रुपैयाँ भुक्तानी दिन अझै बाँकी छ । किसानसँग सहमती भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागलाई चिनी उद्योगले किसानको बक्यौता रकम भुक्तानीको रिपोर्ट गर्न जिम्मा दिएको थियो ।
आइतबारसम्ममा विभागले संकलन गरेको तथ्यांक अनुसार १४ वटा चिनी उद्योगमध्ये सातवटा उद्योगले मात्र उखु किसानको बक्यौता रकम भुक्तानी गरेका छन् । बाँकी सातवटा उद्योगले सरकार र किसानसँग भएको सहमतिपछि केही बक्यौता रकम भुक्तानी गरे पनि बक्यौताको आधा भन्दा वढी भुक्तानी गरेका छैनन् । नवलपरासीको लुम्बिनी सुगर मिलका सञ्चालक हालसम्म सम्पर्कविहीन छन् । उनले सो मिलले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम कति रहेको भन्ने समेत अहिले सम्म जानकारी छैन। लुम्बिनी सुगर मिलका सञ्चालकको दुई वर्ष अघि नै मृत्यु भएको हुँदा उनका परिवारका कुनै सदस्यसमेत सम्पर्कमा नआएको बताइएको छ ।
यस्तै श्रीराम सुगर मिल रौतहटले उखु किसानसँग जग्गा बिक्री गरेर भएपनि केही समयपछि बक्यौता रकमको भुक्तानी गर्ने सहमति गरेको छ । बक्यौता भुक्तानी नगर्ने अन्य चिनी उद्योगको अवस्था पनि नाजुक छ । विभागको तथ्यांक अनुसार श्रीराम सुगर मिलले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्न २६ करोड ७७ लाख ७८ हजार ६२३ रुपैयाँ बाँकी छ ।
उता सर्लाहीको अन्नपूर्ण सुगर मिलले आइतबारसम्म जम्मा ३ करोड ९० लाख मात्र बक्यौता रकम भुक्तानी गरेको छ । सो मिलले उखु किसानसँग भएको पाँच बुँदे सहमतिपछि यति रकम बुझाएको हो । यस सुगर मिलले लामो समयदेखिको ४२ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेकामा जम्मा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको हो । यसैगरी महालक्ष्मी सुगर मिलले जम्मा ११ करोड ५० लाख बाँकी बक्यौता किसानलाई बुझाएको छ । जब कि सो मिलले २१ करोड ४० लाख ५८ हजार २२६ रुपैयाँ बक्यौता भुक्तानी गर्नुपर्नेछ । इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ । अन्नपूर्ण सुगर र इन्दिरा सुगर मिलका मालिक एउटै (राकेश अग्रवाल) हुन् ।
बक्यौता रकम पाएका किसानहरु मध्ये धेरैजसो आन्दोलनमा आएका किसानहरु मात्र केहि प्रतिशत रकम पाएका हुन् । अन्य पीडित किसानहरुको अवस्था पुरानै छ । रौतहटका किसान रामविलास रायले ७ लाख रुपैयाँ भुक्तानी लिन बाँकी थियो । सरकारसँग भएको सहमतिको समय सकिंदा उनले ३ लाख मात्र पाएका छन् । उनी यसअघि ५ हजार रुपैयाँ ऋण लिएर राजधानीमा आन्दोलन गर्न आएका थिए । अरु किसानहरुको अवस्था पनि रामविलासको भन्दा कम छैन ।
सहमतिको समय सकिएर पनि आफ्नो पूरै भुक्तानी नपाएका पीडित किसानहरु अब पुनः आन्दोलनका लागि राजधानी आउनु पर्ने अवस्था आएको छ । सरकारले आशा देखाएको तर पुरा नगरेपछि उखुको बाँकी भुक्तानी लिन कहिलेसम्म यसरी राजधानी धाउनु पर्ने भन्ने चिन्तामा किसानहरु रहेका छन् । चिनी उद्योगीहरूले उखु किसानको बक्यौता रकम भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन पीडित किसानहरुले पटक पटक दबाब दिंदै आएका छन् ।





























प्रतिक्रिया